• मंसिर ३० २०८१, आईतवार

आत्मदाह गरेकी कमलाको सुसाइट नोट भेटियो, लेखेकी छिन्,‘श्रीमान र छोराहरु खुसीसाथ बस्नू’

मंसिर ३० २०८१, आईतवार

काठमाडौंं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।

घटनास्थल नजिकै सुसाइड नोट फेला परेको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए । ‘सुसाइड नोट भेटिएको छ । त्यसमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको छैन,’ डीएसपी गोद्दारले भने ।

शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् ।

‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे एक अनुसन्धान अधिकृतले भने ।

घटनास्थल नजिकै उनले कागमा सुसाइड नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमानलाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।

१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमानबीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले श्रीमानलाई कुनै दोष लगाएकी छैनिन् ।

मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिवारका सदस्यहरूले प्रहरीलाई बताएका छन् ।

श्रीमानसँग कुराकानी भएको केही समयमै उनले आत्मदाहको प्रयास गरेकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् । आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको छ ।