काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले वर्तमान सरकारको सात बुँदे प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस-एमाले गठबन्धन सरकार निर्माण हुँदै गर्दा भएको सात बुँदे प्रतिबद्धता लागू नभएको र जनताले प्रश्न उठाउन थालेको बताएका हुन् ।
नेता घिमिरेले सरकार गठन हुँदाको बेलाका प्रतिबद्धता संविधान संशोधन, तीव्र भौतिक विकास, सुशासन, भ्रष्टाचारको न्यूनीकरण लगायतका विषय अगाडि बढ्नै नसकेको बताए ।
‘सात बुँदे सहमतिमा खास गरी राजनीतिक स्थिरता, सुशासन, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र तीव्र भौतिक विकास यी मुख्य बुँदाहरू हुन् । यी बुँदाहरूमध्ये प्राथमिकता दिएर सरकार चलाउँछ होला, मुलुकमा रोकिएका सबै कामहरू, मुलुकका विकासका सम्भावनाहरू अगाडि बढाउँछ होला भन्ने एक प्रकारको जनअपेक्षा थियो ।
त्यो थोर-बहुत अझै पनि बाँकी नै छ,’ उनले भने, ‘तर, सरकार बनेको पाँच महिना भइसकेको छ । यो बिचमा सात बुँदे सहमति भएको थियो, त्यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको देखिँदैन ।’
जनताले प्रश्न उठाए पनि कांग्रेस-एमालेबिच समझदारी कायम रहेसम्म यो सरकार अंक गणितीय हिसाबले नढल्ने उनले बताए ।