• मंसिर ३० २०८१, आईतवार

गिरिबन्धुको भ्रष्टाचार छानबिन गराउन ओलीलाई वर्षमानको चेतावनी

मंसिर २९ २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् ।
ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उदघाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे ।

ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो ।
‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिंड्नुभएको छ’, पुनले भने, ‘ठूलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ ।’
पुनले भने, ‘हाम्रो अध्यक्षमाथि ठूलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौं ।’

पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई भने ।
प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयम् अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए ।

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरु राखेर ओलीले ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए ।