• मंसिर २९ २०८१, शनिबार

स्टेफनको अर्धशतकमा काठमाडौं गुर्खाजको जित, प्लेअफको सम्भावना कायमै

मंसिर २९ २०८१, शनिबार

मंसिर २९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा स्टेफेन इस्किनाजीको अर्धशतकमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । जितसँगै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

काठमाडौं गुर्खाजका लागि इस्किनाजीले सर्वाधिक ६० रनको योगदान दिए । स्टेफनले ३४ बलमा १० चौका प्रहार गरेका थिए । यस्तै, माइकल लेभिटले ३२ र भीम सार्कीले २२ रन जोड्दा जेर्राड एरसामस २५ रनमा अविजित रहे । कप्तान करण केसी १ रनमा पभिलियन फर्किएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रनको योगफल तयार पारेको थियो । पोखराका लागि रेमोन रेइफरले सर्वाधिक ४१ रनको योगदान दिए ।

३० बल खेलेका रेइफरले एक चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै, दिनेश खरेलले ३८ र दिलिप नाथले २७ रन जोडे । यसैगरी, कप्तान कुशल भुर्तेल ७ र विपिन खत्री ४ रनमा पभिलियन फर्किएका थिए ।

काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान ३९३ विकेट लिए । यस्तै, जेर्राड एरसामस र माइकल लेभिटेले समान १९१ विकेट लिए । हारसँगै पोखरा एभेन्जर्स भने एनपीएलको प्लेअफमै नपुगेर बाहिरिएको छ ।

जितसँगै काठमाडौंले भने प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको पाँचौँ स्थानमा उक्लिएको छ । प्लेअफमा पुग्न अब आइतबार हुने खेलमा काठमाडौं गुर्खाजले जित निकाल्नुपर्ने हुन्छ ।

जनकपुर ६ खेलबाट १० अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने चितवन ६ खेलबाट ६ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको ५ खेलबाट ८ अंक छ भने तेस्रो स्थानको कर्णाली याक्सको ६ खेलबाट ८ अंक छ ।