देशभर अत्यधिक चिसो बढ्न थालेसंगै रुघाखाकी लाग्ने सम्भावना पनि बढीरहेको हुन्छ । यस्तैमा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच–छ दिनमा निको हुने गदैछ । रुघाखोकी लाग्दैमा औषधि जथाभाबी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न चिकित्सक सुझाव दिने गर्दछन् ।
रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गराउनुपर्नेमा चिकित्सकहरु जोड दिन्छन् ।
सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ । जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म लगाउन हुँदैन ।