मंसिर २७, काठमाडौं । जाजरकोटमा गए राति जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिपमा सात जना सवार थिए । प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ ।
यस्तै, जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा रल नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार जिप एक्कासि ब्रेक फेल भई सडक बाट झन्डै सात सय मिटर तल खसेको छ ।