• असार १ २०८२, आईतवार

फसेको रकम उठाइदिने बहानामा गुण्डागर्दी, ५ जना पक्राउ

मंसिर २६ २०८१, बुधबार

२६ मङ्सिर, काठमाडौँ । फसेको रकम ‘उठाइदिन्छौ’ भन्दै समूह बनाएर कानुन हातमा लिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको क्षेत्र र सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाए हामीलाई खबर गर्नु भन्दै ‘गोर्खा डिफेन्स फोर्स’ नामको गुप बनाएर उनीहरुले कानुन हातमा लिएको आरोप छ ।

पक्राउ पर्नेमा दाङ घर भएर भैंसेपाटी बस्ने रेखबहादुर पुन मगर ‘रिदम’, ललितपुर घर भएका २६ वर्षीय सुमन लो, सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय फुर्वा तामाङ उर्फ डिबी, भोजपुर घर भएका ३१ वर्षीय विक्रम तामाङ र सिन्धुली घर भएका २६ वर्षीय उत्तर वाइबा छन् ।

सामाजिक सञ्जाल ‘टिकट’ मा विज्ञापन गरेर नै उनीहरुले कानुन हातमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । भट्टराईले भने, ‘वैदेशिक रोजगारी र सहकारीको रकम उठाउनुपरेमा सम्पर्क गर्नुहोला भनेर विज्ञापन गरेर उनीहरुले गलत अभ्यास गरेको देखिन्छ ।’

टिकटमा उनीहरुले ‘जिडिएफ क्लब’ अर्थात गोर्खा डिफेन्स फोर्स भन्ने क्लब बनाएका छन् । सो फोर्सको आवरणमा उनीहरुले कपनस्थित एक सहकारीको म्यानेजरलाई नियन्त्रणमा लिएर मोटरसाइकल कब्जामा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सहकारीका म्यानेजरबाट ९० हजार असुल गरेपछि आरोपीहरूले मोटरसाइकल फिर्ता गरेका थिए ।

समूह बनाउने मुख्य योजनाकार रेखबहादुर पुनमगर हुन् । उनी जिम प्रशिक्षक समेत हुन् । आरोपीहरुमाथि कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसएसपी भट्टराईले बताए ।