• असार १ २०८२, आईतवार

कैलालीमा दुर्घटनामा परी हास्य कलाकार हिक्मत महराको मृत्यु

मंसिर २६ २०८१, बुधबार

मंसिर २६, काठमाडौं । मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ । मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका हुन् । उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि चर्चामा आएका थिए । ‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए ।

त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए ।

गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।