काठमाडौँ — केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी हुने भएको छ । आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ ।
सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो । सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ । सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीले धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन,
प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि दिएका छन् । सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए । सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो । यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।
दुर्गा प्रसाईंलाई सघाउने हरिचन्द को हुन् ?सीआईबीले भारतमा बसेर प्रसाईंसँगको मिलेमतोमा नेपाली व्यापारी र व्यवसायीलाई धम्क्याउने काममा खटिएका हरिचन्द्र फुयाँलको पृष्ठभूमि माओवादीमा गएर जोडिन्छ । सीआईबीका अनुसार उनी २०५९ सालतिर माओवादीका सक्रिय कार्यकर्ता थिए । माओवादीमा सक्रिय रहेकै बेला हरिचन्द्रको भेट दुर्गा प्रसाईंसँग भएको देखिन्छ । सीआईबीका अनुसार पढाइ अघि नबढाएका तर छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेका हरिचन्द्र पछिल्लो समय प्रसाईंको निर्देशनमा भारतमा बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यापारी र व्यवसायी धम्क्याउने काममा सक्रिय थिए ।
व्यवसायीले जुन समयमा आफूहरूले धम्की पाए भनेर बताएका थिए, त्यही अविधमा हरिचन्द्र र प्रसाईंबीच सयपटक भन्दा धेरै कुराकानी भएको रेकर्ड पनि प्रहरीले फेला पारेको छ ।