• बैशाख १० २०८२, बुधबार

अपराधमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान हुँदा मानवअधिकारको हनन् हुँदैन : गृहमन्त्री लेखक

मंसिर २५ २०८१, मंगलवार

मंसिर २५, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान हुँदा मानवअधिकारको हनन् नहुने बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री लेखकले सरकार मानवअधिकार रक्षाका लागि प्रतिबद्ध रहेको दावी गरे । सार्वजनिक रूपमा रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानवअधिकारसँग जोड्न नहुने लेखकको तर्क छ ।

अनुसन्धान, अदालत र न्यायिक निरुपणलाई प्रभावित गर्ने कार्य गलत रहेको भन्दै उनले सरकारले कसैको पनि मानवअधिकारको हनन् गर्ने कार्य नगरेको दावी गरे । अनुसन्धान र न्यायिक प्रक्रिया कानुन सम्मत अघि बढ्ने उल्लेख गर्नै मन्त्री लेखकले भिडले न्यायको निरुपण नहुने बताए । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्न भइरहेका गतिविधिहरू स्टन्टबाजी रहेको उनले बताए ।

सरकार र मन्त्री परिवर्तनको विषय हल्ला मात्रै भएको लेखकको भनाइ थियो । संविधानको रक्षा, संघीय लोकातान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस गठवन्धन बनेको उनले बताए । वर्तमान गठबन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको उनले बताए ।

यस्तै, गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्त्वपूर्ण प्रहरी संरचनाहरू यथाशीघ्र सार्न लागिएको बताए । जग्गा प्राप्ति लगायतका विषय टुङ्गो लागिसकेकाले कर्णाली बाहिर रहेका महत्त्वपूर्ण प्रहरी कार्यालयहरु कर्णालीमा सार्ने तयारी रहेको उनको भनाइ छ ।

कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि परम्परागत हिंसा भने चुनौतीका रूपमा रेहेको उनले बताए । लागुऔषध, आत्महत्या र घरेलु हिंसा कर्णालीमा चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको निरुपणमा सरकारले नयाँ ढङ्गले सुरक्षा योजना तयार पार्ने मन्त्री लेखकको दावी थियो ।