• माघ १८ २०८१, शुक्रबार

जंगली हात्तीबाट बच्न झापामा थालियो रात्रि गस्ती

मंसिर २४ २०८१, सोमबार

२४ मंसिर, झापा । झापामा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयले मिलेर रात्रिकालीन गस्ती गर्न थालेका छन् । जंगलबाट हुलमै हात्ती पस्न थालेपछि शनिबारदेखि शिवसताक्षी नगरपालिकाको वडा नं ८ ले गस्ती जाने टोली नै गठन गरेर रात्रिकालीन गस्ती थालेको हो । वडाध्यक्ष सन्तकुमार फेउदेनका अनुसार, हात्ती गाउँ बस्ने मुख्य गौडामा बसेर कम्तिमा २५ जना सम्मेलित टोलीले हात्ती आउँदै गरेको देखिए गाउँलेलाई सूचना दिन्छ । ‘हाते माइक, सिटी र आकस्मिकका रुपमा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने जिम्मेवारी गस्ती टोलीको हो’, उनले अनलाइनखबरसँग भने ।

झापामा हात्तीको आक्रमणबाट वर्षेनि मानिसहरुको मृत्यु हुने गर्छ । बेलडाँगी लगायतका क्षेत्रमा हात्ती आक्रमणबाट बच्न विद्युतीय तारबारको पनि व्यवस्था गरिएको छ । यद्यपि, समस्या समाधान भएको छैन । शिवसताक्षीको वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी चोकको गौडामार्फत् पनि दिनहुँ जङ्गली हात्ती गाउँ पस्ने गरेका छन् । स्थानीयका अनुसार कुनै दिन एउटा मात्र वयस्क हात्ती गाउँ पस्छ भने कुनै दिन हुल नै बाँधिएर आउँदा बाली खराप हुने गरेको छ, घर लगायतका संरचना भत्किने गरेको छ । कतिपय स्थानीयले हात्ती पसेको थाहा पाएपछि बालबालिका चेपेर घर छाड्ने गरेका छन् ।

महिनौंदेखि हात्तीले शिवसताक्षी नगरका केही वडामा आतंक मच्चाउन थालेपछि उपाय खोजी गर्दै वडाध्यक्ष फेददिनसहितले छलफल गरेका थिए । त्यसक्रममा रात्रिकालीन गस्ती गर्ने उपाय स्थानीयले सुझाएका थिए । गस्ती टोली परिचालित भएपछि स्थानीयलाई ढुक्कले सुत्न वडा अध्यक्ष फेउदिनले आग्रह गरे । ‘हात्ती आएको सूचना हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ, त्यतिन्जेल ढुक्कले सुत्नुहोस्,’ उनले सोमबार स्थानीयवासीसँग भने । पूर्वपश्चिम राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा दिनभरि बस्ने र रात परेपछि गाउँ पस्ने गर्दा आतंकित स्थानीयलाई गस्तीले केही राहत दिने नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताउँछिन् ।

झिलझिलेका स्थायीवासी बालकृष्ण अधिकारीका अनुसार, गस्ती टोली चारवटा समूहमा गस्ती टोली परिचालित हुने गरेको छ । हात्ती पस्ने गौडामा गस्ती टोली बसेर गाउँलेलाई सूचना प्रदान गर्ने हुँदा सबै रातभर अनिदो भएर बस्नु नपर्ने उनले बताए । गस्ती टोलीमा प्रहरी, रेडक्रसका अधिकारी, स्थानीय बजार विकास समिति लगायतका प्रतिनिधि पनि छन् ।