२४ मङ्सिर, काठमाडौँ । भक्तपुरको लोकन्थलीमा चोरले अङ्कुसेले तानेर करिब १४ लाखको सुन चोरेर भागे । कार्तिक १५ मा भएको सो घट्नामा संलग्न आरोपीको क्लु अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीस्थित बिगमार्ट नजिकै होमबहादुर काउछाको डेरामा लक्ष्मीपूजा गर्दा पूजा कोठामा राखेको करिब ९ तोला सुन चोरी भएको थियो । भोजबहादुर बस्नेतको साढे २ तले घरको पहिलो तलामा डेरामा बस्थे बाँकेको खजुरा घर भएका काउछाको परिवार ।
पूजा कोठाको झ्याल खुल्ला छाडेको मौका छोपेर चोरले फलामको ग्रिलबाट अंकुशेले तानेर सुन चोरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
चोरले कोठामा भएको सुन सबै लगेनन् । पूजा कोठामा चोरले छाडेको अवस्थामा केही सुन भेटिएको छ । करिब ९ तोला सुन अङ्कुसेले तानेर अरू सुन छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । त्यसबारे कार्तिक १६ मा प्रहरीले अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म चोरीमा संलग्न आरोपीको क्लु फेला नपरेको डीएसपी नेउपानेले बताए । उनले भने, ‘अनुसन्धान गर्दैछौं तर, अहिलेसम्म आरोपीको पहिचान खुल्न सकेको छैन ।’
सीसीटिभी फुटेजको दृश्यको आधारमा राति ११ बजेर ४० मिनेटमा सुन चोरी भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।प्रहरीका अनुसार नेकलेस, औँठी, सुनको चुरा, सुनको मङ्गलसूत्र, ३ तोला २३ लालको रानीहार र सुनको बाला चोरी भएको थियो । चोरले १३ लाख ६८ हजारको सुन चोरेको काउछा परिवारले दाबी गरेका छन् ।