• माघ १८ २०८१, शुक्रबार

काउली खाने गर्नुहुन्छ ? यस्ता छन् फाइदा

मंसिर २४ २०८१, सोमबार

जाडो मौसम सुरु हुने बित्तिकैदेखि बजारमा हरिया साग(सब्जीहरु देखिने गरिन्छ । त्योमध्ये एक हो काउली ।  काउली एक लोकप्रिय तरकारी हो । नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ ।  काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई निष्क्रिय पार्छ ।

निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै काउली खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ ।

काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ । चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।