• चैत्र १९ २०८१, बुधबार

चीनमा भैंसीको मासु बेच्ने बाटाे खुल्यो, ‘थर्मल्ली प्रोसेस्ड मिट’ पठाउन कति सम्भव छ ?

मंसिर २२ २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणका क्रममा ९ वटा महत्वपूर्ण सम्झौता भएको थियो । जसमध्ये एउटा महत्वपूर्ण सम्झौता थियो– नेपालबाट भैंसीको मासु निर्यात् । भैंसीको मासु निर्यात त गर्ने तर कसरी भन्ने विषय भने अझै अन्यौल छ ।

हाल चीनले नेपालबाट भैसीको मासु काँचो नभई थर्मल्ली प्रोसेस्ड बफेलो मिट लान खोजेको हो । चीनले पोसेस्ड बफेलो मिट लान खोज्नुको कारण नेपालमा पशुपन्छीमा देखिएका अनेक रोगका कारण पनि पोसेस्ड मिट लैजान खोजेको हो । गत असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले पनि चीनमा कुक्ड बफेलो मिट (तताएर प्रशोसन गरिएको मासु) निर्यात गर्ने विषयमा निर्णय नै गरेको थियो । प्रधानमन्त्रीको चीन भ्रमणमा पनि सो विषयलाई महत्व दिएर सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हुन त यसअघि पनि असोज ६ देखि १३ गतेसम्म पूर्वप्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्ड र चीनको सरकार प्रमुख ले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा पनि कुक्ड बफेलो मिट चीन निर्यात् गर्ने विषयमा सहमति भएको थियो । सोही सहमतिको विषयमा अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

चाइना भन्सारको सामान्य प्रशासन (जीएसीसी) ले मासुसहित १८ खाद्य वस्तुको विषयमा आफ्नो छुट्टै मापदण्ड बनाएको छ । सो मापदण्ड अनुसार मासु आयातसम्बन्धी तयार पारेको मापदण्ड नेपाली पक्षले पालना गरेमा मासु निर्यात सम्भव हुने देखिन्छ । चीनले बनाएको नियम अनुसार भैंसी सम्पूर्ण रुपले रोगमुक्त हुनुपर्ने, नेपालको आफ्नै उत्पादन हुनुपर्ने, खाद्य, स्वच्छता, फाइटो स्यानेटरीलगायतका हिसावले उत्कृष्ट हुनुपर्ने, ३० महिना मुनिको भैंसी हुनुपर्ने, बध गर्दा सरकारले तोकेको प्रावधानभित्र हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । यो मापदण्ड पूरा भएमा मात्रै मासु निर्यात गर्न सकिनेछ ।

नेपालमा पशुपंक्षीमा कुनै न कुनै रोग लाग्दै आइरहेको छ । केही समयअघि महामारीको रुपमा लम्पिस्किनका कारण धेरै गाईँभैसी प्रभावित बने । महामारी फैलिएको अवस्थामा चीनले पठाएको मापदण्डअनुसार नेपालले सहज रुपमा भैंसी पालन गर्नु र स्वच्छ रुपमा मासु उत्पादन गर्नु ठूलो चुनौती छ । अर्कोतर्फ स्वदेशी माग पुरा गरेर चीनमा निर्यात गर्नुपर्ने अवस्था छ । स्वदेशी माग नै पुरा गर्न नसकेको अवस्थामा चीनमा निर्यात गर्नु भनेको अर्को चुनौती हो ।

चीनले भनेको जस्तो मासु निर्यात् गर्न कति सम्भव छ ?

पहिलो विषय नेपालमा अहिलेसम्म अन्तरराष्ट्रियस्तरको बधशाला छैन । भएको बधशाला पनि स्वच्छ र सफा छैनन् । दोस्रो विषय–भैसी स्वस्थ हुनुपर्ने र ३० महिना मुनीको हुनुपर्ने चीनले बनाएको नियममा उल्लेख छ । तेस्रो विषय– भैसीको मासु रोगमुक्त बनाउनका लागि ७० डिग्री तापक्रममा तताएर मात्रै पठाउनुपर्ने हुन्छ । जसका लागि आवश्यक पूर्वाधार नेपालसँग हालसम्म छैन । अब पूर्वाधार बनाउनका लागि कम्तिमा ५ अर्ब रुपैयाँ बढी लगानी लाग्ने विज्ञहरुको भनाई छ ।

चीनले काँचो मासु निर्यात भियतनामबाट मात्रै गर्दै आइरहेको छ । त्यो पनि भियतनामले ल्याबबाट सर्टिफाइट भएको स्वच्छता मासु भनेर प्रमाणिकरण गरेको मात्रै निर्यात् हुन्छ । चीनमा प्रति व्यक्ति प्रति बर्ष ४५.१ किलो मासु उपभोग गर्छन् । आगामी सन् २०२९ सम्ममा चीनले प्रति व्यक्ति प्रति बर्ष मासुको उपभोग दर ५२.८४ किलो पुर्याउने लक्ष्य राखेको छ । चीनले बार्षिक रुपमा ६ लाख ५६ हजार ४ सय ३० टनको हाराहारीमा बफ मासु आफै उत्पादन गर्छ । त्यसभन्दा बढि अपुग आयात गर्ने गर्दछ ।

नेपालबाट अहिले पनि भारत, भियतनाममा भैंसी निर्यात भइरहेका छन् । सोही मासु भियतनाममा स्वच्छता प्रमाणित गरर चीन निर्यात हुने गरेको छ । हाल विश्वभर उत्पादन हुने भैंसीको कूल मासुको परिमाणमध्ये झण्डै ४३ प्रतिशत भारतमा उत्पादन हुन्छ । नेपालको अधिकांश गाई भैंसी कुनै न कुनै रोगबाट प्रभावित छन् । लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ ।

वार्षिक डेढ करोडको निर्यात भइरहेको छ कति छ उत्पादन?
केही वर्षअघिदेखि नेपालबाट भैंसी र राँगाको मासु हङकङ, भियतनाम, अमेरिकामा निर्यात हुँदै आएको केन्द्रीय भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १ करोड ५३ लाख ३१ हजार रुपैयाँको ८८ हजार किलो निर्यात भएको छ । गतवर्ष (२०७९/०८०) मा १ करोड ५८ लाख ८० हजार रुपैयाँको १ लाख ४४ हजार किलो मासु निर्यात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ। नेपालमा वार्षिक रुपमा १ लाख ९० हजार मेट्रिक टन औषतमा भैंसी तथा राँगाको मासु उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ । सन् २०१९/०२० मा १ लाख ८९ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो ।

यस्तै सन् २०२०/०२१ मा १ लाख ८८ हजार मेट्रिक टन, सन् २०२१/०२२ मा १ लाख ९४ हजार मेट्रिक टन राँगा र भैंसीको मासु उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

के छ नेपालमा राँगाभैंसीको मासुको अवस्था ?

सरकारले निर्यात गर्ने सम्झौता गरिरहँदा भने नेपालमा राँगाभैंसी पाल्नेको संख्या दिनहुँ घटिरहेको देखिन्छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा मुलुकभरि राँगाभैंसी पाल्ने किसान परिवार संख्या १६ लाख ६९ हजारबाट १४ लाख १७ हजारमा झरेको छ ।

यस्तै राँगाभैंसीको कुल संख्यामा पनि कमी आएको छ । २०६८ सालको गणनामा देशभरि ३१ लाख ७४ हजार राँगाभैंसी थियो । २०७८ सालमा यो संख्या २९ लाख २३ हजारमा झरेको छ । नेपालमा वार्षिक १ लाख १६ हजार ५ सय ३ टन राँगाभैंसीको मासु उत्पादन हुँदै आएको छ । जसमध्ये करिब ९० प्रतिशत यहीँ खपत हुन्छ । सरकारले यहीँ उत्पादनको दर बढाएर निर्यात गर्नुपर्ने अवस्था छ ।

मध्यपहाडी क्षेत्रका साथै मधेस प्रदेशसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा व्यावसायिक भैंसीपालन भइरहेको कृषि मन्त्रालयले जनाएको छ । बाँकेमा सबैभन्दा बढि परिमाणमा भैसीको मासु उत्पादन हुन्छ । मन्त्रालयको तथ्याँकअनुसार बाँकेमा ७ हजार ५ सय ९७ मेट्रिक टन, सप्तरीमा ७ हजार १ सय ५९, रुपन्देहीमा ६ हजार ४ सय १९, कैलालीमा ६ हजार २ सय ४३, बारामा ६ हजार २ सय ३, सुनसरीमा ६ हजार १ सय १७, कपिलवस्तुमा ५ हजार ८ सय १०, काभ्रेमा ५ हजार ७ सय ७५, दाङ्गमा ५ हजार ६ सय ७५, कञ्चनपुरमा ४ हजार ४ सय ४३, मकवानपुरमा ४ हजार २ सय ८६ र मोरङ्गमा ४ हजार ५७ मेट्रिक टन भैंसीको मासु उत्पादन हुँदै आएको छ ।