काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन् ।
यसै पनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको उनको भनाइ छ ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
सिमेन्टको मूल्य वृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ । यसले निर्माण व्यवसायीहरू अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ ।’
यस्तै, उनले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने उनले बताए । यसमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।