• फाल्गुन २९ २०८१, बिहीबार

नेपाल ऋणै ऋणको जालोमा पर्ने खतरा छ : डेपुटी सिइयो ज्ञवाली

मंसिर २२ २०८१, शनिबार

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपाल ऋणै ऋणको जालोमा पर्ने खतरा देखिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित निजी क्षेत्रतर्फ उत्कृष्ट करदाता कम्पनीहरुको सम्मान कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंकका डेपुटी सीईओ ज्ञवालीले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसक्ने स्थिति बनेको बताए ।

बजार, उत्पादन र सेवा क्षेत्रको गति खस्किँदा लगानी उठ्ने अवस्था नरहेको र बैंकको लगानी समेत क्रमशः खराब कर्जामा रुपान्तरण हुँदै गइरहेको उनले बताए । यस्तो विकराल अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको उनले बताए ।

अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा थप कमजोर भएको समेत उनले बताए ।

कार्यक्रममा म्यारियट होटलका सञ्चालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए । नेपालको भन्दा बढी राष्ट्रिय सुरक्षा संकट रहेको पाकिस्तानमा थोरै सेना रहेकोमा नेपालले अत्यधिक राख्नु अनावश्यक रहेको उनले बताए ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०-८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको हो ।

होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ ।