• चैत्र ३ २०८१, सोमबार

शिक्षक कार्यकर्ता कि अनुसन्धानकर्ता !

मंसिर २१ २०८१, शुक्रबार

नीतिश्लोकमा सत्यको रक्षा शिक्षकबाट मात्र संभव हुन्छ भनिएको छ । शिक्षकहरू समाजमा पढे लेखेको बौद्धिक वर्ग हो । शिक्षकहरूलाई व्यास, दधीची र बृहस्पतिसँग तुलना गरिन्छ । गुरूजनहरू देशका हरेक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने स्रोत हुन् । शिक्षकको महत्व प्राचीन कालमा पनि थियो र आजको आधुनिक युगमा पनि उत्तिकै छ ।

आजका विकसित देशहरू अमेरिका, युरोप र एशियाका लगायतका कतिपय देशहरूमा गुरूजनहरूको महिमा उच्च स्तरको रहेको पाइन्छ । शैक्षिक संस्थाहरूबाट अब्बल शैक्षिक क्षमता भएको जनशक्तिको रोजाइ शिक्षण पेसा पर्दछ । राज्यले पनि अब्बल जनशक्तिलाई शिक्षा क्षेत्रमा प्रवेश गराउने नीतिगत व्यवस्था गरेको हुन्छ ।

गुरूजनहरू विश्व जगतका हरेक देशहरूमा सामाजिक, बौद्धिक तथा नैतिक रूपमा माथिल्लो कोटीमा पर्ने व्यक्ति एवम् व्यक्तित्वहरू हुन् । तर हाम्रो देशको सन्दर्भमा उल्लेखित भनाइ मेल खाउको पाइँदैन । राज्यले गुरूजनहरूलाई हेर्ने दृष्टिकोण प्राज्ञिक भएको पाइँदैन । मेरिटोक्रेसीको आधारमा शिक्षालयहरू चलाइएको छैन ।

दलहरूले शिक्षकहरूलाई राजनीतिक दुनो सोझाउने माध्यमको रूपमा प्रयोग गर्दा देशको शिक्षा क्षेत्र लथालिङ्ग भएको अवस्था छ । गुरूजनहरू पनि राजनीतिक दलहरूबाट दुरूपयोग भएका छन् । त्यसो त सबै गुरूजनहरूलाई एउटै डालोमा हालेर हेरिनु न्यायोचित हुँदैन । शिक्षण पेशामा आबद्ध कतिपय गुरूजनहरू आफनो पेशाप्रति जवाफदेही नभएका होइनन् ।

शिक्षण पेसामा योग्य, सक्षम तथा इमानदार गुरूहरू पनि छन् । तथापि कतिपय गुरूजनहरूले पेशागत सुरक्षा, पद र प्रमोसनको लागि राजनीतिलाई भर्याङ् बनाउँदा पेशागत निष्ठामा प्रश्नहरू उठेका छन् । गुरूहरू राजनीतिक दलका झण्डा बोक्ने, शिक्षक संघ तथा संगठनहरू चलाउने, योग्यता तथा क्षमता विना नै स्थायी हुनु पर्ने माग राखेर आन्दोलन गर्ने जस्ता कार्यहरू प्राज्ञिक क्रियाकलाप होइनन् ।

यति मात्र होइन, अतिउच्च शिक्षा हासिल गरेका प्रा.डा.हरूले विश्वविद्यालयका उच्च पदहरूमा राजनीतिक नियुक्तिको लागि नेताहरूको आशीर्वाद थाप्ने बिषय घामजस्तै छर्लङ्ग छ । राजनीतिक दलहरूको कोटामा विश्वविद्यालयका गुरूजनहरू नियुक्ति हुने कुरा प्राज्ञिक वर्गलाई सुहाउँछ त ? सुहाउँदैन ।

राज्यले शिक्षामा ठूलो लगानी गरेको भएता पनि शिक्षा समय सापेक्ष बन्न नसकेको जगजाहेर नै छ । शिक्षा र शिक्षकहरूलाई राजनीतिक चश्माको छाँयाबाट बाहिर ननिकालेसम्म विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा गुणस्तरीय हुन सक्दैन । शिक्षा प्राज्ञिक क्षेत्र हो । शिक्षालयहरू विचार निर्माण तथा सिर्जनाका बगैँचा हुन् ।

यो बगैंचाका मालीको रूपमा रहेका गुरूहरूलाई राजनीतिक हिलोले छ्याप्ने काम गर्नु हुँदैन । गुरूजनहरू पनि छ्यापिनु हुँदैन । जोगिनु पर्दछ । शिक्षा क्षेत्र समस्या नै समस्याहरूको जालोले घेरिएको छ । यस मध्येको एउटा समस्या शिक्षामा राजनीतिकरण हो । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट अलग बनाउन आवस्यक मात्र होइन, जरूरी भैसकेको छ ।

शिक्षालाई मेरिटोक्रेसीको आधारमा सञ्चालन गर्नु पर्दछ । गुरूजनहरू राजनीति दलका कार्यकर्ता होइनन् । विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, व्यवसायिक मित्र एवम् स्रोतव्यक्ति हुन् । बन्न सक्नु पर्दछ । शिक्षालयहरूलाई अनुशासित, मर्यादित तथा गुणस्तरीय बनाउनको लागि शिक्षक प्राध्यापकहरूको ठुलो भूमिका हुन्छ ।

परन्तु शिक्षण पेसाको गहनता र महत्वलाई राजनीतिक दलहरूले बुझन सकेको देखिएन । प्राज्ञिक वर्ग राजनीतिक दलहरूको पछाडि लाग्ने होइन, बरू राजनीतिले बाटो बिराउँदा दिशानिर्देश गर्न सक्ने मार्गदर्शक शक्ति बन्न सक्नु पर्दछ । प्राज्ञिक वर्ग राजनीतिक दलहरूबाट दुरूपयोग हुनु हुँदैन ।

गुरूजनहरूले पनि आफै बुझनु पर्दछ । शिक्षकहरू देशका दक्ष जनशक्ति उत्पादन गर्ने स्रोतशक्ति हुन् । सामाजिक, आर्थिक र शैक्षिक रूपमा शिक्षक वर्गलाइ माथिल्लो स्तरमा राख्नु पर्दछ । राजनीतिक दलहरूले सार्वजनिक रूपमा नै शिक्षालयहरूलाई राजनीतिको उद्गम थलो भन्ने गरेका छन् । गुरूजनहरूले विद्यालयतहदेखि विश्वविद्यालयसम्म संघ, संगठनहरू खोलेका छन् । किन चलाउनु पर्यो ?

कक्षा कोठामा पढाउनु पर्ने गुरूजनहरू दलका कार्यक्रम तथा पार्टी कार्यालयहरूमा धाउन अशोभनीय कुरा हो र ? होइन । गुरूहरू आप्mनो क्षमतामा विश्वस्त र पेशा इमानदार हुनु पर्दछ । प्राज्ञिकहरूले आफनो स्तरलाई राजनीतिक दलहरूको पछाडि लागेर घटाउनु हुँदैन । शिक्षकहरूलाई गाली आओस् कि ताली आफनो कर्तव्यबाट विमुख हुनु हुँदैन ।

शिक्षक प्राध्यापकहरू विद्यार्थीहरूका भविष्य निर्माता हुन् । देशका दक्ष जनशक्ति उत्पादनका व्यक्ति तथा व्यक्तित्व हुन् । देशको शासक प्रशासक लगायत हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्न सक्ने क्षमता भएको व्यक्तिले किन राजनीतिक थाक्रो समाउनु ? देशको प्राज्ञिक शक्तिलाई राजनीतिक दलको भातृसंघ संगठनहरूमा आबद्ध भएर दलको झण्डा समात्न सुहाउँछ र ? सुहाउँदैन ।

सबैभन्दा माथि देश हुन्छ भनेर शिक्षा बाँड्ने व्यक्तिको लागि राजनीतिक दल कसरी सबै भन्दा माथि हुन सक्दछ ? गुरूजनका लागि सबैभन्दा माथि देश र उसको पेसा हुनु पर्दछ । त्यसैले गुरूहरू गैरराजनीतिक व्यक्ति, स्वतन्त्र चिन्तक तथा अनुसन्धान कर्ता बन्नु पर्दछ । गुरूहरू विद्यार्थीहरूको परामर्शदाता, अभिभावक, प्रेरणाको स्रोत, मार्ग दर्शक, सल्लाहकार हुन् ।

शिक्षक पढेलेखेको, बुझेको व्यक्ति भएको हुनाले उसले सही वा गलत थाहा पाउनु प्राज्ञिक गुण हो । यो गुणको अवलम्बन नगरेसम्म शिक्षाको गुणस्तर माथि उठ्न सक्दैन । राज्यले तय गरेको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइको आधारमा शिक्षाको गुणस्तर निर्धारण हुने गर्दछ ।

राज्यले अवलम्बन गरेको शिक्षा प्रणालीको आधारमा व्यक्ति, समाज र देशको भविष्य निर्माण हुने गर्दछ । राज्यले तय गरेको शिक्षा नीति तथा शैक्षिक कार्यव्रmममा प्रत्यक्ष रूपमा संलग्न हुने व्यक्तिहरू भनेका शिक्षक प्राध्यापकहरू हुन् । शिक्षक प्रध्यापकहरूको योग्यता, क्षमता र शिक्षण शैलीले समग्र शिक्षाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्दछ ।

त्यसैले गुरूजनहरूले पेशागत क्षमता र सीपमा जोड दिनु पर्दछ । राजनीतिक छाता मुनी ओतलाग्नु हुँदैन । शिक्षाविदहरू भन्छन्, ‘शिक्षा क्षेत्र नहस नहस हुनको पछाडि राजनीतिक दलहरू नै जिम्मेवारज्ञ छन् ।’ उनीहरूको मत छ, ‘शिक्षकहरूलाई दलको झोला बोक्न लगाउने काम अदुरदर्शी काम हो । राजनीतिको चास्नीमा विवेकलाई मास्नी काम गर्नु गुरूजनहरूको कमजोरी हो ।’

एकातिर शिक्षा समय सापेक्ष हुन सकेको छैनभने अर्कोतिर गुरूजनहरूले पाठ्यपुस्तकीय ज्ञानलाईमात्र शिक्षणको पर्यायका रूपमा बुझ्ने गरेकोले शिक्षण विधिमा भाषण, प्रवचन, वर्णन, व्याख्या, बिश्लेषण तथा कण्ठस्थगर्न लगाउने शिक्षण शैली हावी छ । यस्तो शिक्षण परम्परागत शैली हो ।

शिक्षालयहरूमा शिक्षण सकाई प्रभावकारी हुन नसकेको र विद्यार्थीहरूमा सिकाई उपलब्धी अत्यन्त न्यून रहेको तथ्याङ्कहरूले पुष्टि गर्दछन् । २०८० सालको विद्यालय परीक्षाको नतिजामा ५२ प्रतिसतको हाराहारीमा मात्र विद्यार्थीहरू उत्तीर्ण भए । यस कोणबाट हेर्दा पनि सार्वजनिक विद्यालयहरूको शिक्षण सिकाईलाइ प्रभावकारी बनाउन जरूरी देखिन्छ ।

शिक्षाको व्यबस्थापन तथा सुधार गर्ने अभिभावकको रूपमा राज्यको भूमिका हुन्छ । शिक्षक व्यबस्थापन, सञ्चलन तथा दण्ड र पुरस्कारको प्रबन्ध गर्ने काम पनि राज्यको हो । राज्यले नीतिगत रूपमा अब्बल शैक्षिक क्षमता भएका शिक्षक प्राध्यापकहरूलाई छनौट गर्ने प्रबन्ध गरेको छैन ।

बरू राजनीतिक दल वा नेता विशेषका व्यक्तिहरूलाई राहात, करार वा यस्तै अन्य नीतिगत व्यबस्थाको सिर्जनागरी विद्यालय तहदेखि विश्वविद्यालयसम्म शिक्षक प्राध्यापक भर्ना गरेको पाइन्छ । अनि शिक्षालयहरू कसरी अब्बल हुन सक्दछन् ?

हरेक क्षेत्रका विज्ञ, विशेषज्ञ राजनीतिक कर्मी, शासक, प्रशासक, शिक्षक, प्रध्यापक, डाक्टर, इन्जीनियर, लेखक, नीति निर्माता, उध्योगपति, नागरिक समाज, खोज तथा अनुसन्धानकर्ता, पत्रकार आदि इत्यादी क्षेत्रमा जनशक्ति उत्पादन हुने ठाउँ विद्यालय तथा विश्वविद्यालयहरू हुन् । ‘जस्तो वीउ रोप्यो, त्यस्तै फल पाइन्छ’ भन्ने नेपाली लोकवोली व्यबहारवादी दृष्टिकोणले वैज्ञानिक छ ।

यस कोणबाट हेर्दा आजका शिक्षार्थीहरूलाइ समय सापेक्ष शिक्षाको वीउ रोपेर भविष्यका सक्षम जनशक्ति उत्पादन गर्ने काममा राज्यले ढिला गर्नु हुँदैन । नागरिकलाई गुणस्तरीय शिक्षा दिई व्यक्ति, समाज र सुन्दर भविष्यको निर्माणमा राज्य र गुरूजनहरू लाग्नु पर्दछ । अन्त्यमा राज्यले भोलिको समाजको आवस्यकतालाई ध्यानमा राखेर शिक्षाको नीति निर्माण गरोस् ।

शिक्षा क्षेत्रलाइ राजनीतिक हस्तक्षेपबाट मुक्त गरोस् । विद्यालयतहदेखि विश्वविद्यालयसममका गुरूजनहरूलाई राजनीतिक दलहरूको कार्यकर्ता होइन, अनुसन्धानकर्ता बनाउन भूमिका खेलोस् । गुरूजनहरू प्राज्ञिक वर्ग भएकोले राजनीतिक दलको पछाडि लागन हदैन । नलागौं । आफनो विज्ञता र क्षमतालाई शिक्षाको क्षेत्रमा लगानी गर्नु पर्दछ । यसै गरौं । आप्mनो पेशाप्रति इमानदार बनौं ।