• मंसिर २७ २०८१, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

मंसिर २० २०८१, बिहीबार

२० मङ्सिर, काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँ, जाजरकोट, सिरहा, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बुधबार राति मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–४ घर भई काठमाडौँ अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाङ्कालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँस्थित सडकमा कार्की गाउँबाट कुदुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार भएको दुर्घटनामा चालक कैलाली घर भएका २५ वर्षीय मनोज केसी र जिपमा सवार जुम्ला घर भएका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहको छ ।

उता सिराहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा स.१ ह ७२४ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय निरज कुमार कामतीको मृत्यु भएको छ । बुधबार बेलुकी उनको अटोको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मोडाहास्थित सडकमा यूपी ५५ एक्यू ५३४२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिरदलाल नाउँको मृत्यु भएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–४ ईट्टा भट्टीस्थित सडकमा बा.प्र.०६–००१ प ६२७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपेन्देही सिद्धार्थनगर नगरपालिका–७ बस्ने ३५ वर्षीय पंकज ज्ञवालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहास्थित सडकमा म.प.०३–००१ क २०४१ नम्बरको बसले से.३ प ४७९६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु
भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।