• मंसिर २० २०८१, बिहीबार

बारपाकको जंगलमा युवतीको शव भेटियो, हत्याको आशंका

मंसिर १९ २०८१, बुधबार

घाँस काट्न जादाँ सम्पर्कविहीन भएकी बारपाक सुलिकोट गाउँपालिका–१ की १८ बर्षीय सुचिना घले मृत अवस्थामा फेला परेकी छन् । मंगलवार दिउँसो साढे एक बजे मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गत शनिवार घाँस काट्न भनी उनी घर नजिकैको जंगलमा गएकी थिइन् । साँझसम्म पनि घर नफर्केपछि स्थानीय र आफन्त खोजी कार्यमा जुटेका थिए । खोजी गरिदिन भन्दै उनीहरुले बारपाक प्रहरी चौकीमा समेत निवेदन दिए । प्रहरी र स्थानीय मिलेर खोजतलास गर्ने क्रममा मंगलवार जंगल नजिकै ती युवतीको शव फेला परेको एसपी वासुदेव पाठकले बताए ।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको बिशेषज्ञ टोली र जिल्ला प्रहरी कार्यालयबाट डिएसपी इन्द्रप्रसाद सुवेदी नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ । धार्चे ६ काशिगाउँ माइत भएकी घलेको शव माइती पक्ष आएपछि मात्र निकालिने एसपी पाठकले जानकारी दिए । ‘धार्चेको काशिगाउँबाट माइती पक्ष आउँदै हुनुहुन्छ, उहाँहरु आएपछि मात्र शव निकाल्छौँ,’ उनले भने ।

युवतीको हत्या भएको स्थानीयले दावी गरेका छन् । डोकोभित्र राखेर स्याउलाले पुरेको अवस्थामा शव देखिएको र टाउकोमा धारिलो हतियार प्रहार भएको चोट समेत रहेको स्थानीयले बताएका छन् । घटनास्थल नजिकै केही कपाल, रगत र डोको भेटिएको प्रहरीले समेत जनाएको छ । घटना शंकास्पद भएकाले हत्या पनि हुन सक्ने प्रहरीको अनुमान छ ।