१९ मंसिर, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ’, मन्त्री पौडेलले भने । गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए । ‘हामी यसबारे बिमर्श गरिरहेका छौँ’, मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ।’