• असार ३ २०८२, मंगलवार

चितवनमा रास्वपाको प्रदर्शनमा झडप : आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते

मंसिर १९ २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । यता रास्वपाका ४० जना घाइते भएको रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेले बताए। ‘हाम्रोतर्फ कम्तिमा पनि ४० जना घाइते भएका छन्।’ उनले भन । प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेपछि पानीको फोहोरा र अश्रुग्यास सेल प्रहार गर्नुपरेको एसपी मिश्रले बताए ।

‘घाइतेहरू सरकारी अस्पतालमा छन्। जिल्ला प्रहरी कार्यालय गेटमै जबरजस्ती छिर्न खोजे। हामीले रोक्न खोजेपछि प्रहरीमाथि ढुंगामुढा भयो। प्रहरी नै घाइते भएपछि हामीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका हौं,’ उनले भने । कति सेल प्रहार भएको भन्ने खुलिसकेको छैन। अहिले रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। उनलाई चितवन र्पुयाएपछि रास्वपाले प्रदर्शन गरेको हो ।