मंसिर १९, काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा १ झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई गएराति नियन्त्रणमा लिएको थियो ।
दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको थियो । धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।