• मंसिर २० २०८१, बिहीबार

नङमा समस्या आउनुका कारण

मंसिर १९ २०८१, बुधबार

बारम्बार ह्याण्ड सेनिटाइजर र हात धुने साबुनको प्रयोगका कारण नङ वरपरको छालाको माथिल्लो तह निस्केर त्यो भाग कमजोर हुन गई छाला फुट्ने, गहिरो गरी उक्किने समस्या देखिन्छ । कतिपयको नङमा फङगल इन्फेक्सन भएर नङ नै खस्नेसम्मको समस्या आउने डा. अर्यालले बताइन् ।

सामान्यतः गृहिणीहरुमा यो समस्या बढी देखिने गरेको छ । किनकि, तुलनात्मक रुपमा अरुभन्दा उनीहरु बढी साबुन चलाउँछन् । लुगा धुने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा धुने साबुन चलाइरहनुपर्ने हुन्छ ।

यस्तै केमिकल उद्योगमा काम गर्नेहरुमा पनि नङसम्बन्धी समस्या धेरै देखिन्छ । जसलाई कन्ट्याक्ट एलर्जी भनिन्छ । किसान, गार्डेनरहरुमा माटोसँग धेरै खेलाउँदा पनि समस्या हुने गरेको डा। अर्याल बताउँछिन् । त्यस्तै निर्माण कम्पनीमा कार्यरत मजदुरहरुले सिमेन्ट छोइराख्नुपर्ने कारणले पनि फुट्ने समस्या देखिन्छ ।

किशोरी तथा युवतीहरुले मेनिक्युर, पेडिक्युर गर्दा नङ र नङको वरपरको छाला घोटेर सफा गर्दिन्छन् । त्यसले छाला घोटिई पातलो हुन जान्छ र टुक्रिने, फुट्ने समस्या हुन्छ । कतिपयको नङमा फङ्गल इन्फेक्सन भई नङ पाकेर समेत झर्छ ।

यसैगरी वृद्ध उमेरका व्यक्तिमा पनि नङ र छालाको समस्या धेरै देखिन्छ । धार्मिक मन भएकाहरु दैनिक पूजा गर्दा अबीर छुन्छन् । आजभोलिको अबीर केमिकलयुक्त हुन्छ । त्यसले छाला फुट्छ । फुटेको छालामा पटकपटक अबीर पस्दा संक्रमण हुन्छ । जसका कारण पिप जम्ने समस्या हुन्छ । विस्तारै नङसम्म समस्या पुग्छ । नङको वरपरको छाला भनेको नङको घर भएकाले त्यसमा समस्या आउँदा नङमा स्वतः असर पर्ने डा। अर्याल बताउँछिन् ।

‘नङको वरपरको छाला भनेको नङको घर हो । वरपरको छालामा समस्या देखिन थालेपछि नङमा असर देखिन थाल्छ । नङ कालो, पहेंलो, कालो देखिने र टुक्रिने हुन्छ । त्यसैले वरपरको छालाको ख्याल राख्नुपर्छ,’ उनी भन्छिन् ।