अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) दरार पर्दै गएको छ । यसमा दरार बाह्य कारणले नभई आन्तरिक कारणले हुन गएको देखिन्छ । वैज्ञानिक पनि यो कुरा स्वीकार गरिरहेका छन् । यसलाई वैज्ञानिकले ‘लिक’ भएको भनिरहेका छन् । लिक कसरी भइरहेको छ ? र के लिक भइरहेको छ ?
लिक भनेको त्यहाँभित्र रहेको हावा लिक भएको हो । हावा लिक भएर स्टेशनका भाग टुक्रा पर्न थालेका छन् । यो पृथ्वीवासीका लागि गम्भीर चिन्ताको विषय बनिरहेको छ । वैज्ञानिकका लागि प्रतिष्ठाको विषय पनि बनिरहेको छ । आमजनताका लागि भने यो चासोको विषय बनिरहेको छ ।
जमाना बदलिइसकेपछि मानिसको हैसियतमा पनि भिन्नता आएको छ । अन्तरीक्षमा पनि मानिसका लागि पहुँच बढिरहेको छ । हिजो आकाशतिर फर्केर देवता पुकार गर्ने ठाउँ आज पर्यटकीय गन्तव्य बनिरहेको छ । त्यो पनि ‘अन्तरीक्ष पर्यटक’ ! आज नीलो आकाश पृथ्वीको बिस्तारित आँगन बन्न थालिसकेको छ । अन्तरीक्षमा भइरहेका गतिविधि घरेलु चासोका कुरा हुन थालेका छन् ।
अन्तरीक्ष मानिसको स्थायी पहुँचमा आउला कि नआउला भन्ने जस्ता जिज्ञासा अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेशनको स्थायित्वमा भर पर्छ । किनकि यो स्टेशन मानव निर्मित स्थान हो, अन्तरीक्षमा । मानिसका लागि मानव अनुकूल कुरा वा वातावरण चाहिन्छ नै । पृथ्वीमा बनेका कुरामा हावा, पानी र तदनुरूपको खनिजको बनोट आकाशमा पाइँदैन । यी कुरा नपाइएपछि आकाशमा पु¥याइएका पृथ्वी निर्मित वस्तु जर्जर हुँदै जाँदा रहेछन् । अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) लिकपछिको त्रासले यही कुरा बुझाएको छ ।
तर अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) लिक हुँदा त्यससँग सम्त्रन्धित अमेरिकी र रसियन पक्ष आन्तरिक झगडामा छन् । आकाशमा स्पेस स्टेशन दरार परिरहेको छ । पृथ्वीमा दुई पक्षबीच मारामार परिरहेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ र रुसी स्पेस एजेन्सी ‘रसकसमस’ झगडामा लिप्त छन् ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा लिकेज हुन थालेको सन् २०१९ देखि हो । यो लिकेजबारे अमेरिकी र रुसी अन्तरिक्ष एजेन्सी थाह नपाए झैं गरिरहेका छन् । चुहावटको कारण अहिलेसम्म खोजेर त्यसको समाधानमा लागेका पनि छैनन् ।
यसले स्पेस स्टेसनमा निकै खतरा बढिरहेको छ । समाचारमा आए अनुसार लिक भइरहेको ठाउँलाई टाल्ने प्रयास भए पनि सफलता हात लागेन ।
पृथ्वीकै तौरतरिकाले अन्तरीक्षमा काम गर्दैन होला । यसको हेक्का भएन कि वा अब त्यो स्टेशन काम नलाग्ने भएर जान थालेको हो । हावा, पानी मिश्रित वायुमण्डल नभएकाले पनि टाल्ने र टालिने कुरा असंभव हुन्छ होला ।
सन् २०३० सम्म भग्नावशेषमा परिणत हुन जाने यो स्टेशन लिकेजका कारण छिट्टै क्षतिग्रस्त हुँदैछ । यसले अन्तरीक्ष पर्यटकको आवागमनमा मात्र होइन, अन्तरीक्ष अनुसन्धानका काममा पनि बाधा सिर्जना गर्ने छ । शायद, स्पेसमा ठुलै विपत्ति निम्तिने पनि त होला ! विष्फोट भए के गर्ने र के हुने हो ?
लिकेज मार्फत् दैनिक शून्य दशमलव ९ देखि १ दशमलव १ किग्रा हावा निक्लिरहेको छ । हावा निक्लदै गर्दा स्पेस स्टेसनको सन्तुलन बिग्रदै जान पनि सक्छ । गत अप्रिलदेखि नै लिकेजबाट १ दशमलव ७ किग्रा हावा प्रतिदिन फुस्कदै जान थालेको हो ।
यो स्टेसनमा सन् २००० को अन्तिम तिरबाट अन्तरीक्ष यात्रीको भिडभाड सुरू भएको हो । आकाशमा तैरिरहेको यो अन्तरीक्ष प्रयोगशाला उमेरका हिसाबले २५ वर्ष पुगिसकेको छ ।