• असार ४ २०८२, बुधबार

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

मंसिर १६ २०८१, आईतवार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन जान लागेका हुन् । ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् ।

प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयमार्फत प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् । सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने छन् । त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्ने छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने छन् । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।