• असार ४ २०८२, बुधबार

नेपालमा नयाँ चरा गेरुमुहार चाँचर फेला पर्याे

मंसिर १६ २०८१, आईतवार

कपिलवस्तु — नेपालमा नयाँ चरा गेरुमुहार चाचर फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार १ सय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका हुन् । पदयात्रा गर्दै चरा अवलोकनका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले चरा देखेर तस्बिर खिचेका थिए । तिवारीले उक्त चराको तस्बिर गत वैशाख १८ गते बिहान ६ बजेर ३९ मिनेटमा खिचेका थिए ।

नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नेपालमा नयाँ चरा अभिलेख भएको भनेर कात्तिक २५ गते भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी उनले दिएका थिए । समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग सुझाव लिई अध्ययन गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष डा. तुल्सी सुवेदीले बताए । समितिले अंग्रेजीमा (नौम्यान्स थ्रस) नाम रहेको चराको नेपाली नाम गेरुमुहार चाँचर दिएको हो ।

मुहार र तल्लो भाग गेरुरंगको हुँदा यो चराको नाम गेरुमुहार चाँचर दिइएको हो । यससँगै नेपालमा पाइने चाँचर प्रजातिका चराको संख्या २० पुगेको छ । ‘सुरुमा उक्त चरा नेपालमा पाइने चटक चाँचरजस्तै लाग्यो,’ तिवारीले भने, ‘गहिरिएर अध्ययन गर्दा फरक जस्तो देखेर विज्ञलाई पठाएँ ।’ उक्त तस्बिर गएको वैशाखमा खिचे पनि नयाँ चराको निक्र्योल गर्न कात्तिकमा मात्र विज्ञलाई आग्रह गरेको उनले बताए ।

नयाँ चराको तस्बिरसहित विस्तृत सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चराविज्ञको टोलीले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले बताए । अब नेपालमा पाइने चराको संख्या ८ सय ९७ पुगेको छ । रुसमा आवासीय रूपमा पाइने र प्रजनन गर्ने यो चरा चीन, जापान, मंगोलिया, कोरिया र ताइवानमा पनि पाइन्छ । बसाइँसराइका बेला यो चराले मंगोलियाको बाटो प्रयोग गरेर आवतजावत गर्छ ।

बेलायत, फ्रान्स, नर्वे, स्विडेन र फिनल्यान्डलगायत एसियाका केही मुलुक र मध्यपूर्वको केही देशमा फिरन्ते चराको रुपमा रेकर्ड भएको यो बसाइँ सर्ने क्रममा नेपाल आएको हुन सक्ने चराविद्हरू बताउँछन् । मुलुकका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको तिवारीले बताए । ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । अझ चराका फोटो खिच्न उत्प्रेरित गरेको छ,’ उनले भने । यसअघि चराविद् तिवारी र वाइल्डलाइफ फोटोग्राफर सञ्जय था श्रेष्ठले गत साउन २ गते ३ हजार ६ सय ५० मिटर उचाइको उपल्लो मुस्ताङमै नेपालका लागि तालुधर्से अर्जुनक नयाँ चरा नेपालमा पाइएको अभिलेख गरेका थिए ।