काठमाडौं । सिमसार बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा र सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा काठमाडौंको गोंगबुँमा संयुक्त रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरुले सहकारीमा रकम जम्मा गर्ने बानीले कुनै समयमा आपत पर्दा सहयोग पुर्याउने गरेको बताए । उनीहरुले सहकारीले आफ्नो आर्थिक जीवनमा परिवर्तन ल्याएको पनि बताए ।
सो अवसरमा बोल्दै सिमसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन भण्डारीले कुनै सेयर सदस्यको निधन भएमा रु. २५ हजार कृया खर्च दिँदै आइएकोमा अबदेखि दीर्घ रोगी वा दुर्घटनामा परी अस्पताल भर्ना भएकाहरुका लागि पनि रु.२५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराइने र महिला सेयर सदस्य सुत्केरी भएमा प्रोत्साहन स्वरुप रु. १० हजार सुत्केरी भत्ता समेत उपलब्ध गराइने कुराको जानकारी दिए । साथै उनले टोखा नगरपालिका सहकारी विभागले बेला बेला तालिमको व्यवस्था गरिदिएकोले टोखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीलाई धन्यवाद दिए ।
कार्यक्रमका अर्का वक्ता तथा सदावहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कपिल बिमलीले दैनिक रु. १०० का दरले बचत गर्दै आएका सेयर सदस्यहरुका लागि उद्यमशिल, सीपमूलक कार्य, व्यापार र व्यवसाय गर्न सरल र सहज तरिकाले न्यूनतम ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको कुरा जानकारी दिए ।
सिमसार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष निर्मला भट्टराईले बचत तथा ऋण र बहुउद्धेश्यीय दुवै संस्थाको प्रगतिका बारेमा हौसला प्रदान गर्दै संस्थाको कार्यप्रगतिको जानकारी दिइन् । अर्का वक्ता तथा सञ्चालक समिति सदस्य प्रकाशचन्द्र गुरागाईंले सिमसार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा सदावहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष भीमकुमार कटुवालले सचिवको तर्फबाट आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका अर्का वक्ता सिमसार बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक सुवास भगवतीले लेखा प्रतिवेदन पेश गर्दै लेखा सम्बन्धिको काम चुस्त र दुरुस्त रहेको कुरा पनि जानकारी दिए ।
त्यस्तै सिमसार बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्य रामेश्वर ठाकुरले खाद्यान्न उपलब्ध गराउने, स्वास्थ्य सम्बन्धि औषधि उपलब्ध गराउने तथा सुत्केरी भत्ता जस्ता कार्यक्रम लागु गरेर सञ्चालक समिति नै धन्यवादको पात्र भएको बताए । उनले सेयर सदस्यहरुले माग राखेपछि यस्तो सेवा गर्नु पर्नेमा सञ्चालक समितिले आफै यस्तो सेवा सुविधाहरु प्रदान गर्नु भएकोले आफूहरु खुशी भएको बताए ।
अर्का वक्ता टोखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीले सहकारीमा आज बचत गरेपछि भोली आवश्यक पर्दा खर्च गर्न पाइने भएकोले बचत गर्ने बानी बसाल्नु राम्रो भएको भन्दै सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी मार्फत् दैनिक उपभोग्य खाद्यान्न वस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सेयर सदस्यहरुलाई स्वरोजगार बनाएकोमा धन्यवाद व्यक्त गरिन् ।
सो समारोहमा सिमसार बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हिराकाजी श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष डिल्लीबहादुर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेश गरे ।
सो अवसरमा सदाबहार बहुउद्धेश्यीय सहकारीको तर्फबाट लेखा समिति सदस्य ज्ञानबहादुर खत्रीले लेखा प्रतिवेदन पेश गरे ।
कार्यक्रममा संस्थाकी महिला उपसमिति सदस्य चन्द्रा कुमारी श्रेष्ठले उपस्थित सबैलाई स्वागत मन्तव्यबाट स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन संस्थाका सचिव श्यामकुमार ठाकुरले गरेका थिए ।