काठमाडाैं । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । उनले सङ्क्रमितलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए ।
हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ”, उनले भने, सबै सङ्क्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका सङ्क्रमितले औषधि खाएपछि अरूलाई सार्दैनन् र सङ्क्रमित कम हुँदै गएका छन् । औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए ।
उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निस्शुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् ।
विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए ।