• मंसिर १५ २०८१, शनिबार

कीर्तिपुर गएर गगनले हुँदै नभएको झुट बोलेको प्रचण्डको दाबी

मंसिर १५ २०८१, शनिबार

काठमाडौं, मंसिर १५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालाई आत्मसमीक्षा गर्न अनुरोध गरेका छन् ।

शनिबार काठमाडौंमा कागेश्वरी मनोहरा–२ आलापोट पुगेका प्रचण्डले पत्रकारहरूसँग कुराकानीका क्रममा कांग्रेस महामन्त्री थापालाई आत्मसमीक्षा गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले गगन थापामा केही महिनामा आएको परिवर्तन र त्यतिसम्म झरेर हुँदै नभएको कुरा जनताका अगाडि बोलेको देख्दा दया लागेको पनि बताए ।

‘कति छिटो कति तल झर्न सकेको हो । एउटा राम्रो सम्भावना बोकेको युवा नेता. यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्ने हुनुभएको देख्दा उहाँप्रति साँच्चै नै दया लागेको छ,’ उनले भने ।

कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए । शनिबार प्रचण्डले गगन थापाको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताए ।

‘सतप्रतिशत झुटो कुरा हो । भनेको छैन बरू भन्दा पनि भन्दिनँ । मैले त भनिराखेको छु सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ । सरकार तपाईहरू ०८४ सम्म चलाउनु भनेर पटकपटक भनेको छु,’ प्रचण्डले भने ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवसँग प्रत्यक्ष र परोक्ष रूपमा कुनैपनि कुरा नभएको पनि बताए । ‘त्यसकारण यस्तो झुटो कुरा गगन जी तपाईं आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु,’ प्रचण्डले भने ।