१४ मंसिर, काठमाडौं । प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि व्यवसायीलाई धम्की दिएर असुली गर्न खोजेको आरोपमा औपचारिक रुपमै अनुसन्धान थालेको छ । झापाको चारआलीका ३६ वर्षीया नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आछामबाट पक्राउ गरेर ल्याएसँगै प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान सुरु भएको हो । भारतबाट नेपालका विभिन्न व्यवसायीलाई फोन गरेर धम्की दिएका फुयाँलले प्रसाईंको निर्देशनमा त्यस्तो फोन गरेको स्वीकारेका छन् ।
उनको बयानका आधारमा प्रसाईंमाथि आपराधिक लाभ लिएको कसुरमा छानबिन थालिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाले अनलाइनखबरलाई बताए । थापाका अनुसार, भारतमा रहेका बेला फुयाँलको प्रसाईंसँग नियमित सम्पर्क हुने गरेको समेत फेला परेको छ । उनले आर्थिक प्रलोभन देखाएर विभिन्न व्यवसायीलाई फोन गराएको देखिएको प्रारम्भिक जाँचमा देखिएको छ ।
प्रहरीलाई केही सातादेखि भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भएको भन्दै फोन गरेर रकम मागिराखिएको भन्दै सूचना आएको थियो । त्यसरी फोन गर्ने व्यक्तिले व्यवसायी दुर्गा प्रसाईंलाई उनको अभियानमा सहयोग गर्न समेत भनेका थिए । त्यसपछि प्रहरीले भारतीय प्रहरीसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको थियो । भारतबाट पक्राउ परेपछि फुयाँलले पनि यसमा प्रसाईंको संलग्नता खुलाएको प्रहरी स्रोत बताउँछ ।
यद्यपि, हालसम्म उनीहरूले कति रकम त्यसरी उठाए भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार, हालसम्म चार जना व्यवसायीले प्रसाईंविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट सीआईबीले फेला पारेको छ । ‘धेरैले प्रहरीलाई खबर नै गर्नुभएको छैन, खबर नगर्नेमध्ये केहीले उनीहरूलाई रकम दिएको हुनसक्ने अनुमान छ’, एक अनुसन्धान अधिकृतले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो । फुयाँलको पक्राउसँगै अब आपराधिक लाभको कसुरमा पनि प्रहरीले जाँच थालेको छ ।