बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रले बागमती नदीमा थप पानी छोडेको छ ।
शुक्रबार साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्न छाडेका छौँ, उनले भने ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।