मंसिर १४, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले श्रीलंकासँगको खेलमा टस जितेको छ । टस जितेर फिल्डिङको निर्णय लिँदै नेपालले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ ।
१४–२३ मंसिरसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । आज श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेल १६ मंसिरमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने छ ।
पाली टोलीको कप्तानमा हेमन्त धामी र उपकप्तानको अर्जुन कुमालले छन् । त्यस्तै टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद र युनिस विक्रम सिंह ठकुरी रहेका छन् । नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अविषेक तिवारी र रन्जित कुमार टिममा रहेका छन् ।
शक्ति गौचन टिमको मुख्य प्रशिक्षक रहेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक रहेका छन् । मुख्य प्रशिक्षकमा गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।