बुटवल । नेपालमा मल अभावलाई कम गर्ने उद्देश्यसहित रुपन्देहीमा अग्र्यानिक मल उत्पादन सुरु भएको छ । रुपन्देहीका उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अग्र्यानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।
रोहिणी गाउँपालिकामा ग्रो मोर फर्टीलाइजर एण्डा केमिकल प्रालि उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको छ ।
आज भैरहवामा पत्रकार सम्मेलन गर्दै कम्पनीले मल उत्पादन गरेको जनाएको छ ।
माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्त्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको अग्रवालले बताए ।
पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरी दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मूल्य ५० किलोको १५ सय रुपैयाँमा रहेको छ ।
उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षण पछिमात्र बजारमा पठाउने कम्पनीले जनाएको छ ।