मंसिर १३, काठमाडौं । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुसवाहाको हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली सेनाका भगौडासमेत रहेका बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुसवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए ।
उनकाअनुसार घटनापछि फरार रहेका कुसाहालाई बारा प्रहरीले मोरङबाट पक्राउ गरेको हो । सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए । २०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो ।
प्रहरीका अनुसार मृत्यु अघि पनि क्याम्पस प्रमुखले आफूमाथि गोली प्रहार भएको बताएका थिए । सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको त्यसबेला क्याम्पस प्रमुखले बताएको प्रहरीको भनाइ छ ।
उनको हत्यामा प्रयोग भएको हतियार पेस्तोल दुई थान पेस्तोल र सात थान गोली, चार वटा मोटरसाइकल र चार वटा मोबाइल, २ वटा ल्यापटप थान र ७ वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको थियो ।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक अनुसन्धान भएको छ । घटनामा सुरेन्द्रसहित १७ जनाको संलगता रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
घटनालगतै प्रहरीले चन्द्रमणिप्रसाद कुसवाहा, चाँदसीप्रसाद कुसवाहा, सुमेदकुमार कुसवाहा, विनोद राउत कुर्मी, राधेशकुमार पटेल, अबधलाल कुसवाहा, चुल्हाइ भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरेको थियो ।
उनीहरूमध्ये राधेश र विनोद कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।