१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न काठमाडौं गुर्खाजका विदेशी खेलाडी नेपाल आइपुगेका छन् । बुधबार इंग्ल्याण्डका तीनजना खेलाडी स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर काठमाडौं आइपुगेका हुन् ।
उनीहरूलाई टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौंका पाँच विदेशी खेलाडीहरूमध्ये माइकल लेभिट यसअघि नै आइसकेका थिए भने नामिबियाका जेरार्ड एरास्मस आउन बाँकी छ । काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउण्डर करण केसी छन् । प्रशिक्षक वसन्त शाही ठकुरी छन् । काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग मंसिर १७ मा खेल्ने छ ।