• मंसिर ११ २०८१, मंगलवार

कीर्तिपुरमा उम्मेदवार दिन नसकेको रास्वपाले मत दिने उम्मेदवार पनि छान्न सकेन

मंसिर ११ २०८१, मंगलवार

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगर प्रमुखमा आफूले उम्मेदवार नउठाएको रास्वपाले कसलाई समर्थन गर्ने भन्ने बारे अझै निर्णय लिन सकेको छैन । कसलाई सहयोग गर्ने विषयमा निर्णय गर्ने अधिकार नगर समितिलाई दिइए पनि अझै टुंगोमा पुग्न नसकिएको रास्वपाले जानकारी दिएको छ ।

पार्टी जिल्ला संयोजक प्रदीप विष्टका अनुसार ११ जनामध्ये कसलाई सहयोग गर्ने पार्टी निष्कर्षमा पुग्न सकेको छैन । ‘एक दुई जना भए भन्न सकिने थियो । ११ जना हुनुहुन्छ सबै जना दलविरुद्धको आक्रोशका कारण स्वतन्त्र उम्मेदवारी भन्नुहुन्छ । रास्वपाले राम्रो उम्मेदवार खोजिरहेको छ‚’ उनले भने‚ ‘स्वतन्त्र मध्ये एक जनालाई सहयोग गर्ने जिम्मा कीर्तिपुर नगर समितिलाई दिएर तपाईंहरू नै छान्नुहोस् भनेका छौँ ।’
मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । यही प्रयोजनका लागि मंसिर २ मा भएको उम्मेदवारी दर्तामा रास्वपाले भने कसैलाई पनि निर्वाचनमा उम्मेदवारका रुपमा खडा गर्न सकेको छैन । पार्टीको आन्तरिक कारण देखाउँदै सो पार्टीले उम्मेदवारी नदिएर स्वतन्त्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।

यता स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रित भएर रास्वपाले आज ३ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले डा. नवरथकुमार बानियाँ‚ कविकुमार महर्जन वा सरसफाइ अभियन्ता राजमान महर्जन मध्ये एकलाई साथ समर्थन गर्ने गरी तयारी गरिरहेको बुझिएको छ ।

सहकारी ठगी काण्डमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपा रानी बिनाको माहुरी झैं भएको छ । केही समय अघि इलाममा भएको उपनिर्वाचनमा पनि रास्वपाको जमानत जफत भएको थियो ।

रविको लोकप्रियताको आधारमा जन्म भएको यो पार्टी उनी सहकारी काण्डमा फसेर पक्राउ परेपछि रास्वपाको पनि जनतामा क्रेज घट्दै गएको छ ।