• मंसिर ११ २०८१, मंगलवार

अर्को सौर्यमण्डलको सङ्केत

मंसिर १० २०८१, सोमबार

अनन्त आकाशमा रहेका लाखौं सौर्य प्रणालीमा सूर्यको वरिपरि घुम्ने पृथ्वीसहितको सौर्य परिवारमा हामी छौं । सचेत प्राणी भएको सौर्य परिवारमा पृथ्वी नै अहिलेसम्म एक मात्र ग्रह रहेको छ ।

तर वैज्ञानिकहरू भने अन्य सौर्य परिवारको खोजीमा लागिपरेका छन् । पछिल्लो खोजमा हाम्रो सौर्य परिवार बाहेक बाहिर एउटा युवा ग्रह देखा परेको छ । यो युवा ग्रहको उमेर हालको अनुमानमा ३० लाख वर्षमात्र भएको वैज्ञानिकको ठहर छ । हाम्रो सौर्यमण्डल बाहिर भेटिएको यो ग्रह अहिलेसम्मकै कान्छो ग्रह हो ।

यो शिशु ग्रहलाई आईआरएएस् ०४१२५+२९०२ नामाकरण गरिएको छ । यो ग्रह पृथ्वीबाट ४३० प्रकाश वर्ष टाढा रहेको छ । तारापुञ्जको आणविक बादलभित्र रहेको यो ग्रह अहिले अर्को सौर्य परिवार खोजीको माध्यम बनेको छ ।

वैज्ञानिकहरू यसलाई ताराहरूको एउटा नर्सरी नजिक रहेको बताइरहेका छन् । यसको अर्थ यो ताराहरूको नर्सरी नजिक रहेको उज्यालो प्रकाशका कारण कम देखिने गरेको छ । दुरीका हिसाबले कैयौं प्रकाश वर्ष टाढा रहेकाले पनि यसलाई नियाल्न निकै कठिनाइ भएको थियो ।

अनुसन्धानको क्रममा युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका अनुसन्धानकर्ता तथा वैज्ञानिक म्याडिसन जी बार्बरको नेतृत्वमा यसको सङ्केत मिलेको हो । अन्यत्र पनि कतै ग्रहहरू छन् कि भनी गरिएको अनुसन्धानमा यो युवा ग्रह पत्ता लागेको हो ।

हालसम्म आफ्नो सौर्य परिवार र यसको वरिपरि घुमिरहेको मानव अनुसन्धान अबका दिनमा यो सीमा काटेर बाहिर पनि पुगेको कुरा खगोलीय खोजमा प्राप्त उपलब्धी हो । वैज्ञानिक स्वयम्ले यसलाई असाधारण र दुर्लभ भनी बताएका छन् ।

ताराको चम्चमाउँदो धुलोले ढाकिएको घनघोर बादलको बीचमा तारा समूहको वरिपरि घुमिरहने भएकाले यो ग्रह सित्तिमित्ति देखा पर्न सकेन । तर निरन्तर खोजका कारण यो ग्रह लुकिरहन पनि सकेन ।

यो ग्रहको प्राप्तिसँगै जिज्ञासाको अर्को पाटो पनि खुलेको छ । यसले खोजलाई झन् रोचक रहस्यमयी बनाएको छ । यसको बाहिरी सतह निकै खस्रो र उबडखाबड देखा परिरहेको छ । वैज्ञानिकको अनुमानमा यो युवा ग्रह नजिकैको कुनै ठुलो ग्रहसँग ठोक्किएको हुन सक्छ । साथै, यो अहिले सापेक्ष स्थिर अवस्थामा एक निस्चित वृत्तमा नियमित घुमिरहेको छ ।

यो ग्रह नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस)को अनुमानमा यो ग्रह तारापुञ्जको नजिक हुँदा कम देखिने हुन गएको छ । त्यसो त अर्को तिरबाट स्पष्ट देखिन सक्ने भए पनि पृथ्वीबाट हेर्दा आकाशमा तारापुञ्जका कारण यो स्पष्टसँग देखिन र पहिले नै भेटिन नसकेको पनि हुन सक्छ ।

अहिलेको अनुमानका यो तारा बृहस्पतिको आकार जत्तिको देखा परिरहेको छ । तर पनि वैज्ञानिकको अनुमानमा यो ग्रह अझ खँदिलो हुन र सायद ठोक्किएका भाग आफ्नो आकारमा आउन केही लामो समय लाग्ने अनुमानका कारण वृहस्पतिभन्दा सानो पनि हुन सक्छ ।

हालको अनुमानमा यसले ‘पृथ्वीले सूर्यको परिक्रमा गरेझैं’ वयस्क तारा होइन, बरू तारा बन्दै गरेको ‘प्रोटोस्टार’ को परिक्रमा गरिरहेको पो छ कि भन्ने अनुमान गहिरो बनाएको छ । यसले खोज तथा अनुसन्धानमा अझ गहिरो लगाबमा वैज्ञानिकलाई तानिरहेको छ ।