• मंसिर ९ २०८१, आईतवार

कला सिकाउन भक्तपुर आएका अमेरिकी दम्पती : ‘माटो संस्कृति जोड्ने बलियो पुल’

मंसिर ९ २०८१, आईतवार

काठमाडौं । माटोका हस्तकला र तिनमा कला पोत्ने शिल्पमा भक्तपुर प्रसिद्ध छ । रैथाने कलालाई निखार्ने, कलात्मक आवाजलाई सशक्त बनाउने र उद्यमशीलताको खोजी गर्ने जमर्को यसैसाता भक्तपुरका महिला कलाकारले गरे । अमेरिकादेखि आएका प्रसिद्ध कलाकार दम्पती मार्क नाफजिगर र जोइसले यी नेपाली कलाकारलाई सीप तिखार्न प्रेरित गरे । अमेरिकी दूतावासको ‘आट्र्स इन्भोय २०२४’ कार्यक्रम अन्तर्गत नेपाल आएका उनीहरूले १८ देखि २२ नोभेम्बरसम्म भक्तपुरको पोटरी स्क्वायरमा ‘सेरामिक वर्कसप’ सञ्चालन गरे ।

१० महिला कलाकार सहभागी कार्यशालामा उनीहरुले परम्परालाई जोगाउने, नवप्रवर्तनलाई प्रेरित गर्ने र समुदायलाई कलामार्फत जोड्नेतर्फ सहभागीलाई प्रोत्साहित गरे । सहभागीले आफूले बनाएका कलाकृतिलाई अन्तिम रुप दिंदै अनुभव पनि बाँडे । उक्त अवसरमा प्रदर्शनी पनि आयोजना गरियो, जसमा साताभरि सिर्जना गरिएका सुन्दर कलाकृति प्रस्तुत गरिए । दूतावासले सामग्री र ग्लेजिङ प्रविधिमा प्रयोग गर्नेदेखि सांस्कृतिक धरोहरलाई सम्मान गर्ने कृतिहरू सिर्जना गर्नेमा कार्यशालाले योगदान र्पुयाएको जनाएको छ ।

सहभागीमध्येकी एक ऐश्वर्या शाक्यले आफूले लामो समयदेखि माटोका भाँडाकुँडा बनाउँदै आएपनि कार्यशालाले आफूलाई थप रचनात्मक हुन प्रेरित गरेको बताइन् । आफूलाई उद्यमशीलतामा अघि बढ्न यो कार्यशालाले प्रोत्साहन दिएको उनको भनाइ छ । दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले संस्कृतिबीच कलात्मक प्रविधिलाई साझा गर्नु, समुदायभित्रका सांस्कृतिक विचलनलाई पुलको माध्यमबाट जोड्नु तथा अर्थपूर्ण संवाद सिर्जना गर्नु ‘आट्र्स इन्भोय’ कार्यक्रमको उद्देश्य रहेको बताए ।

‘मार्क र जोयसको कार्यले समुदायलाई नयाँ विचार दिन मद्दत गर्छ । साथै, कलाकारलाई व्यवसायको विकासमा मद्दत गर्दै व्यावसायिक सम्बन्ध सिर्जना गर्छ’ हार्करले भने । नेपाली संस्कृति र परम्पराप्रति अमेरिकी समर्थन र सम्मान व्यापक रहेको भन्दै उनले नेपालको संस्कृति संरक्षणको लागि राजदूत कोष रहेको बताए । नेपालभर रहेका २८ ऐतिहासिक स्थलमा ४.५ मिलियन डलरभन्दा बढी योगदान गरिएको तथ्य पेश गदै उनले मार्क र जोयसको सहभागिता एक उदाहरण रहेको बताए । सो अवसरमा मार्क र जोयससँग अनलाइनखबरले कला कार्यशाला र नेपाल घुमघामका अनुभवबारे कुराकानी गरेको छ ।