९ मंसिर, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूमा विद्यार्थीको संख्या बढेको जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत वर्षभन्दा ५३ हजार ६०५ ले बढेर आर्थिक वर्ष २०८०र८१ मा विद्यार्थी संख्या ६ लाख ३३ हजार ५३ पुगेको छ । आयोगका अध्यक्ष देवराज अधिकारी क्यालेन्डर बनाएर समयमा नतिजा र कक्षा सञ्चालन भएकाले विद्यार्थीको संख्या बढेको बताउँछन् ।
‘शहरी क्षेत्रमा विद्यार्थीको संख्या बढेको देखिन्छ । विश्वविद्यालयले क्यालेन्डर बनाएको कारण पनि हो,’ उनले भने । शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न आयोगले विश्वविद्यालयहरूलाई ढाँच तयार गरी पठाएको थियो । पहाडी क्षेत्रमा भर्ना भएपनि कक्षामा विद्यार्थी न्यून रहेको अध्यक्ष अधिकारीले बताए । ‘विद्यार्थीको संख्या बढेको छ । तर पहाडी क्षेत्रमा भर्ना भएपनि कक्षामा आउनेको संख्या कम छ,’ उनले भने ।
आयोगका अनुसार सबैभन्दा धेरै ४ लाख ९१ हजार २९९ विद्यार्थी त्रिविमा छन् । जुन विद्यार्थी संख्याको ७७.६१ प्रतिशत हो । आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीका अनुसार १०० भन्दा कम विद्यार्थी रहेको क्याम्पसको संख्या ५०५ छ । जसमा १९ वटा आंगिक, १७८ सामुदायिक र ३०८ निजी क्याम्पस छन् ।
कम विद्यार्थी भएका क्याम्पसलाई मर्ज गर्नुपर्ने निष्कर्ष आयोगको छ । ‘विद्यार्थी संख्या न्यून र भौतिक दुरीको हिसाबले नजजिकमा रहेका क्याम्पसलाई आपसमा गाभ्ने प्रकृया अवलम्बन गर्न जरुरी छ,’ सदस्य सचिव भण्डारीले भने । विदेशी विश्वविद्यलायबाट सम्बन्ध प्राप्त कलेजमा २२ हजार ३३५ विद्यार्थी अध्ययनरत रहेको भण्डारीले बताए । अध्ययनका लागि विद्यार्थी विदेशिनेक्रम बढेको उनले बताए । ‘विद्यार्थीसँगै ठूलो धनराशि विदेशिएको देखिन्छ ।
विश्वविद्यलायको पाठ्यक्रम विश्व परिवेश अनुसार पुनरावलोकन र सुधार गर्नुपर्ने देखिन्छ,’ उनले भने । आयोगका अनुसार विश्वविद्यलायका आंगिक क्याम्पसको संख्या १६४ पुगेको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५४५, निजी क्याम्पसको संख्या ७२३ गरी १ हजार ४३२ क्याम्पस छन् । हाल १४ वटा विश्वविद्यालय छन् । यी मध्ये हालै स्थापना भएका आयुर्वेद विश्वविद्यलाय र नेपाल विश्वविद्यलायमा पठनपाठन भएको छैन ।
बर्दिवास मेडिकल कलेज, बुटवल मेडिकल कलेज, र सुर्खेत मेडिकल कलेज स्थापनाको लागि पूर्वाधार विकासको क्रममा रहेको छ । गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सम्बन्धी विधेयक छलफलमा रहेको आयोगले जनाएको छ । हाल ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । आंगिक क्याम्पसमा कार्यरत शिक्षकको संख्या १२ हजार ८२ पुगेको छ । यसमध्ये १ हजार १२० जना प्राध्यापक, २ हजार ९८३ सहप्राध्यापक, ६ हजार १७४ उपप्राध्यापक र १ हजार ५९९ शिक्षण सहायक र २०० इन्स्ट्रक्टर तहमा छन् ।
विश्वविद्यालयमा अराजक गतिविधि रोक्नुपर्ने आवश्यकता आयोगले औंल्याएको छ । ‘विश्वविद्यलायमा देखिएका अराजनैतिक र अराजक गतिविधिलाई रोक्न राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलको आवश्यकता छ,’ उनले भने । आर्थिक वर्ष २०८०र८१ मा सरकारबाट ११ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ बजेट स्वीकृत भएकोमा १९ अर्ब ४३ करोड ८५ रुपैयाँ निकासा भएको थियो । जसमध्ये १९ अर्ब ९ करोड १४ लाख १० हजार रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।