• मंसिर ९ २०८१, आईतवार

स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो

मंसिर ९ २०८१, आईतवार

९ मङ्सिर, काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीमाथि काठमाडौँको कालीमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका प्रतिनिधिले जोशीलाई पोखराबाट काठमाडौँमा ल्याएर बयान लिए । बयान सकेर उनलाई पुनः कास्कीमा फिर्ता पठाइएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ । अनुसन्धान अधिकृतहरूले जोशीसँग त्यही विषयमा केन्द्रित भएर बयान लिए । आफ्नो नाममा निकासा भएको ऋणबारे जोशीले अनभिज्ञता प्रकट गरेका छन् ।

ऋण लिनुअघि आफ्नो नामबाट पेस भएको निवेदनबारे प्रश्न गर्दा जोशीले अनुसन्धान अधिकृतहरूलाई प्रतिप्रश्न गरे, ‘मेरो हस्ताक्षर देखिन्छ ?’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार स्वर्णलक्ष्मीबाट ऋण लिनुअघि पेस गरेको निवेदनमा जोशीको ठेगाना उल्लेख छैन । उनको नाममात्रै उल्लेख भएको ठेगाना र हस्ताक्षर नभएको अनुसन्धानबाट देखिएको छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘निवेदनमा उहाँको हस्ताक्षर देखिएन ।’ जोशीको नाममा निकासा भएको १ करोड ३० लाख सहकारीमा नै फिर्ता भएको अनुसन्धानबाट देखिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे जोशीले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘म संलग्न छैन ।’ गोरखा मिडिया नेटवर्कमा पूर्व गृहमन्त्री रवि लामिछाने र स्वर्णलक्ष्मीका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राईसँग ‘व्यापारिक साझेदारी’ मा काम गर्दा आफू फसेको उनले बताएका छन् ।

सहकारीको रकम गितेन्द्रबावु (जीवी) राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् । बयानमा उनले भनेका छन्– ‘सहकारीबाट ल्याएको रकम मैले एक रुपैयाँ पनि खर्च गरिनँ ।’

उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।