• मंसिर ९ २०८१, आईतवार

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र एमालेद्वारा बुझ्न अस्वीकार

मंसिर ९ २०८१, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।

गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली कार्यालय परिसरमै बसिरहेको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफै सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।