• मंसिर ९ २०८१, आईतवार

काठमाडौं महानगरले तोकेको जरिवाना नतिर्ने एमाले नेताको भनाई

मंसिर ९ २०८१, आईतवार

९ मंसिर । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए । ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ अधिकारीले भने, ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिए लगत्तै आफै सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।
‘हामीले कार्यक्रम गर्यौं, आफैं सफा पनि गर्यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने ।

मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् ।