• मंसिर ९ २०८१, आईतवार

राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम ऋणकाे भारले किन थिचिदैछ ?

मंसिर ८ २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम जति समय वित्यो उति ऋणको भारले थिचिदो छ । निगमको हाल ५२ अर्ब रुपैयाँभन्दा बढी ऋण छ । वायु सेवा निगमले जहाज किन्न ल्याएको ३४ अर्ब ऋणको किस्ता तिर्न नसक्दा अहिले ५२ अर्ब बढी ऋण पुगेको छ ।

बेला बेलामा बिग्रिरहने समस्या, विदेशमा लामो समय ग्राउण्डेड भएर बस्दा उल्टो ऋणमा धकेलिन पुगेको केही समयअघि एक प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । वाइडबडीको साटो न्यारोबडी नाफामा भएपनि ग्राउण्डेड बढी हुने समस्या छ । एकातिर जहाज किनेको ऋण छ भने अर्को तिर किस्ता समेत तिर्न नसक्दा भार बढिरहेको छ । निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्न सरकारकै जमानीमा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।

जहाज उडाएर सो ऋण तिर्नुपर्नेमा लामो समय जहाज बिग्रेर बस्दा किस्ता तिर्न सकेन । त्यसपछि सावाँ ब्याज र जरिमाना गरेर ५२ अर्ब बढी ऋण पुगेको छ । ऋण काढेर ल्याएको पैसा जहाज घाम तपाएर राख्न पर्दा ऋणको ब्याज बढिरहेको निगमले नै स्वीकार्ने गरेको छ । वाइडबडी जहाज उडाउदा आम्दानीभन्दा खर्च धेरै हुने भएपछि निगमलाई किस्ता बुझाउनसमेत हम्मे हुँदै आइरहेको छ ।

वायुसेवा निगमले जहाजको नियमित किस्ता तिर्न नसक्नु, ऋणको सीमा बढ्दै जानु र जहाजको सख्ंया कम हुनुका साथै व्यवस्थापन कमजोरसहितका दर्जनौ कमजोरी देखिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वको निगम संरचनागत तथा व्यवस्थापकीय सुधार अध्ययन कार्य समितिको प्रतिवेदनले दर्जनौं कामजोरी औंल्याएको छ ।

निगमको ऋण बढ्नुको प्रमुख कारण के–के हुन् ?
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा बनाएको समितिको प्रतिवेदनमा निगमको ऋण वर्षेनी बढ्नुमा जहाज पूर्ण क्षमतामा वर्षभरी उडाउन नसक्नुलाई प्रमुख कारण बनाइएको छ । साथै जहाज उडाउने भन्दा पनि मर्मतसम्भार धेरै समय राख्नुपर्ने,अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाज सबै एकै समयमा उडान हुने समय न्यून हुनु, निगम व्यवस्थापनको कमजोरीले आम्दानी बढाउन नसक्दा ऋणमात्रै बढ्नुसहितका कमी कमजोरीलाई प्रतिवेदनले औंल्याएको छ ।

निगमको ऋण बढ्नुको अर्को कारण ऋणमा ल्याएको जहाज चलाउन नसक्नु पनि हो । चिनियाँसँग १० वर्षअघि ल्याएको ६ वटा जहाजमध्ये आन्तरिक उडान भर्ने भने पनि ५ वटा जहाज नउडाउँदा वार्षिक १५ करोड रुपैयाँ खर्चको व्यय भार तिर्नु परिरहेको छ । यसतर्फ न सरकारले ध्यान दिन सकेको छ, न निगमले चासो नै दिएका छन् । जहाजले आम्दानी गर्न नसक्दा ३ वर्ष अगाडि नै तिर्नुपर्ने किस्ता रकम तिर्न नसक्दा ऋणको भार बढिरहेको छ ।

वाइडबडी उडाउँदा सधै घाटा हुने गरेको वित्तीय प्रतिवेदनले देखाएको छ । वाइडबडी उडान भएपनि पूर्ण क्षमतामा उड्न नपाउने र आम्दानी भन्दा पनि खर्च वर्षेनी बढिरहेको प्रतिवेदनले औल्याएको छ । निगमले दुईवटा वाइडबडी जहाज उडाउँदा ०७४÷७५ मा १.५३ अर्ब, ०७५÷७६ मा ३.५९ अर्ब, ०७६÷७७ मा ४.०१ अर्ब, ०७७÷७८ मा ३.७३ अर्ब, ०७८÷७९ मा तीन अर्ब र ०७९÷८० को १० महिनामा ३.२८ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकको कार्यालयले आफ्नो ६१औँ प्रतिवेदनमा निगम व्यवस्थापनले लगानी कोष र सञ्चय कोषलाई ऋणको किस्ता भुक्तानीका लागि सम्झौता पालना नगरेको भन्दै प्रश्न उठाएको छ । ‘सम्झौतामा विमानको टिकट बिक्रीको ३० प्रतिशत विशेष खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा सोको पालना गरिएको छैन । निगमले लगानी कोष र सञ्चय कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र जरिवानासमेत समयमा नै बुझाई सम्झौताको सर्तको पालना गर्नुपर्छ । निगमले सबै दायित्व लेखांकन गरी कार्ययोजना बनाएर समयमै ऋण भुक्तानी गर्नुपर्छ,’ प्रतिवेदनमा छ ।

वायुसेवा निगम कोरोना महामारीको वर्ष ६६ करोड रुपैयाँ सञ्चालन नोक्सानमा गएको भएपनि अन्य वर्षहरुमा यसले कर्मचारी पाल्ने काममात्रै गरेर बसेको छ । यसको अर्थ निगमले लिएका ऋण तिर्न नसकेको र खुद नोक्सान भने बढ्दै गएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा पनि निगमको आयभन्दा व्यय बढी भई हरेक वर्ष निगम घाटामा रहिआएको औँल्याएको छ । जहाजहरू पिक सिजनमै लामो समयसम्म ग्राउन्डेड हुँदा आर्थिक वर्ष ०७९÷८० को चैत–वैशाखमा तीन अर्ब १८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको निगमले गत आर्थिक वर्षको चैत–वैशाख आम्दानी घटेर दुई अर्ब ८३ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ ।

ईयुको कालोसूची हटेन, कहाँ उड्छन् त नेपाली जहाज?
नेपाली जहाज ईयुको कालोसूचीमा परेका कारण युरोपेली मुलुकमा उडान भर्न अहिले पनि प्रतिबन्ध छ । उडान भरेपनि दक्षिण एशियाली मुलुकमा मात्रै हुने गरेको छ । निगमको चारवटा जहाजबाट भारतको दिल्ली, मुम्बई, बैंग्लोर, बैंकक (थाइल्यान्ड), क्वालालम्पुर (मलेसिया), हङकङ, दोहा (कतार), नारिता (जापान), दुबई र दमाममा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । ति मुलुकमा वाइडबडी जहाजले उडान भर्दा दैनिक घाटाकै व्यापार गरिरहेको छ भने न्यारो बढी नाफामा भए पनि लामो समय ग्राउण्डेड हुदाँ आम्दानीको स्रोत गुमाउँदै गइरहेको छ । विशेषगरी न्यारोबडी जहाजमा पटक–पटक इन्जिनमा समस्या देखिने र इन्जिन मर्मत तथा भाडामा ल्याएर ग्राउन्डेड जहाज तत्कालै उडाउन निगम नेतृत्वले बेवास्ता गर्दै आइरहेको छ ।

ऋण तिर्नु कता कता, जहाज किन्न उल्टो ऋण लिदै
वर्षेनी थपिदै गइरहेको ऋण तिर्न नसकेर समस्यामा परिरहेका बेला नेपाल वायु सेवा निगमले पुन ऋण लिने गरी भदौ २८ मा सूचना जारी गरेर ऋण दिन इच्छुक बैंक तथा वित्तिय संस्थालाई ४५ दिनभित्र आवेदन आह्वान जारी गर्यो । निगमले एक सूचना जारी गर्दै ऋण तिर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने जनाएको छ । न्यून ब्याजदरमा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाबाट निगमले ऋण लिन खोजेको हो । यसअघि कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट महँगो ब्याजदरमा ऋण लिएको थियो । उक्त ऋण चुक्ता गर्ने र बाँकी रकम जहाज खरिद र मर्मतमा खर्च गर्ने योजना रहेको निगमले जनाएको छ ।