• मंसिर ८ २०८१, शनिबार

इराकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेटका पाँच लडाकुको मृत्यु

मंसिर ८ २०८१, शनिबार

बगदाद । इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस)का पाँच लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।
गुप्तचर रिपोर्टका आधारमा इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिमस्थित दुर्गम क्षेत्रमा आईएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको जनाइएको छ ।

इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँच ‘आतंककारी’को शव फेला पारेको विज्ञप्तिमा उल्लेख छ । चार राइफल, दुई विस्फोटक बेल्ट, ६ ह्यान्ड ग्रेनेड, गोलाबारुद सहित सञ्चार उपकरण पनि फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१७ मा आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केही सुधार आएको थियो । तर, अझै सहरी तथा दुर्गम क्षेत्रमा लुकेका आईएसका लडाकुले सुरक्षा बल र नागरिकविरुद्ध बारम्बार आक्रमण गर्दै आएका छन् ।