• मंसिर ८ २०८१, शनिबार

हजारबाट सयमा झरेको दुर्गा प्रसाई पक्षधरको भेला

मंसिर ७ २०८१, शुक्रबार

७ मंसिर, काठमाडौं । अघिल्लो वर्ष आजैको दिन सम्झँदै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको घोषणा गरेका थिए । प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर प्रदर्शन गर्ने भएपछि सुरक्षा चुनौतीको धेरथोर आँकलन पनि गरिएको थियो । लाख भन्दा बढीमान्छे उतार्ने भन्दै प्रचार प्रसार गरेका प्रसाईं पक्षधरको प्रदर्शनलाई राज्यले बल्खु क्षेत्र तोक्यो ।

सुरक्षा उपस्थिति पनि सोही अनुरुप बाक्लो बनाइयो । त्यतिबेला प्रसाईंले युवालाई विदेशबाट फर्काउने, विदेशको जेलमा रहेका ७ हजार युवालाई फिर्ता बोलाउने, २० लाखभन्दा मुनिको ऋण मिनाहा गराउने लगायतका अभिव्यक्ति दोर्होयाए । व्यवस्था विरुद्धको प्रदर्शनमा निषेधाज्ञा तोड्नैपर्ने भन्दै उनले प्रदर्शनलाई जनविद्रोहको संज्ञा दिए । सुरक्षा निकायको विश्लेषण अनुसार त्यतिबेला करिब ८ हजारको हाराहारीमा मान्छे प्रसाईंले उतारेका थिए ।

ठिक त्यसको एक वर्षपछि आजकै दिनलाई तोकेर प्रसाईंले प्रदर्शन घोषणा गरे । अघिल्लो पटकको उभार देखेर केही हौसिएका प्रसाईंले ‘मंसिर ७, भ्रष्टहरुको पत्तासाफ’ भन्दै जुलुस निकाल्ने घोषणा गरेका थिए । प्रदर्शनको निर्धारित मितिभन्दा ३ दिन अघि नै प्रसाईं पक्राउ परे । ३ मंसिरमा युट्युबरहरुलाई बोलाएर प्रसाईंले कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको लगानी रहेको प्रमाण भन्दै केही फर्जी कागजातहरु सार्वजनिक गरे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजात बनाएर भ्रम सिर्जना गरेको भन्दै प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ र्गयो । त्यसपछि केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाइएका प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर अपराध लगायत कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रदर्शनभन्दा अघि सरकारले पक्राउ गरेर आन्दोलन दबाउन खोजेको प्रसाईं स्वयंले आरोप लगाएका थिए ।

आजै शुक्रबार प्रसाईं समूहले कोटेश्वरमा गरेको प्रदर्शनमा उक्त कुरा दोर्होयाइएको थियो । ‘दुर्गा प्रसाईंलाई रिहा गर, दुर्गा प्रसाईंलाई न्याय देउ’ भन्दै उनीहरुले प्रसाईंलाई थुनेर आन्दोलन दबाउन खोजिएको आरोप लगाए । तर केही प्रहरी अधिकारीहरु भने आन्दोलनको अघि केही विवादास्पद अभिव्यक्ति दिएर उनी आफैं पक्राउ पर्न खोजेको विश्लेषण गर्छन् । ‘यो पटकको प्रसाईंको जुलुसमा मान्छे जाने अवस्था थिएन । त्यो कुरा उनले पनि बुझेका थिए ।

त्यसपछि आफैं पक्राउ परेर हिरासतमा गएपछि आन्दोलन तुहाउने षडयन्त्र सरकारले र्गयो भन्ने पुष्टि गर्नेतर्फ उनी लागेको देखिन्छ’ एक सुरक्षा अधिकृतको विश्लेषण छ, ‘नत्र प्रधानमन्त्रीविरुद्ध त्यत्रो प्रमाण भएका भए प्रदर्शनकै दिन सार्वजनिक गरिहाल्थे नि । यो उनको सेफल्याडिङ अरेस्ट हो ।’अघिल्लो वर्षको प्रदर्शनमा करिब ८ हजारको हाराहारमा मान्छे उतारेका प्रसाईको अहिले ५ सयको हाराहारीमा पनि मान्छे नरहेको सुरक्षा निकायको विश्लेषण छ । कोटेश्वरबाट बालकुमारीतर्फ जाने बाटोको आकाशे पुल अगाडिको एक लेनमा सानो संख्यामा प्रसाईंका समर्थक जम्मा भएका छन् ।

राष्ट्रिय झण्डा लिएर सडकमा उत्रिएका अधिकांशजसो बाहिर जिल्लाहरुबाट आएका व्यक्तिहरु छन् । विशेषगरी मधेशी मुलका महिलाको बाहुल्य प्रसाईं समूहको प्रदर्शनमा देखिन्छ । सुरक्षा निकायले सोचेभन्दा कम संख्यामा प्रसाईंका समर्थकहरु सडकमा उत्रिएका छन् । सानो संख्यामा प्रदर्शनकारी हुनुलाई प्रसाईंको पक्राउसँग पनि जोडिन्छ । उनी हिरासतमा रहेकाले पनि न्यूनमात्रामा प्रदर्शनकारीहरु सडकमा आएको विश्लेषण गरिन्छ ।

कास्कीदेखि प्रसाईं समूहकै प्रदर्शनका लागि भनेर आएका ६३ वर्षीय देउबहादुर रिजाल पनि यो पटकको जुलुस प्रभावकारी हुन नसकेको बताउँछन् । आफ्नै खर्चमा काठमाडौं आएका उनी गौशालास्थित विजयचोकमा आफैंले बन्दोबस्त गरेर बसेका छन् । अघिल्लो वर्षको प्रदर्शनमा समेत सहभागी हुन कास्कीदेखि आएका उनी सम्झन्छन्, ‘अघिल्लो वर्षको बल्खु आन्दोलन जस्तो अहिले भएन । त्यतिबेलै आन्दोलन छोड्नु हुँदैन थियो ।

पुलिसले धरपकड गरेर आन्दोलन तुहायो ।’ त्यतिबेलाका आन्दोलनमा आफूलाई समेत पक्राउ गरेर प्रहरीले २४ घण्टासम्म हिरासतमा राखेर छाडेको उनी बताउँछन् । तर अहिले भने प्रदर्शनस्थल नै सुनसान बनेको उनको बुझाइ छ । देउबहादुरले भनेजस्तै प्रसाईंले अघिल्लो वर्षको आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाह आउने भन्दै प्रचार गरेका थिए । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाही आन्दोलनमा पुगेका थिए भने राजावादी समूहको समेत प्रसाईंलाई साथ थियो ।

राजावादी संगठन रोयल टाइगर फोर्स (आरटीएफ) र शाही युवा शक्ति नामका संगठन आफ्नो पहिचान देखिने ज्याकेट र टिसर्टमा प्रसाईंको आन्दोलनमा उत्रिएका थिए । त्यतिनै बेला युवा संघले समेत मोटरसाइकर्ल याली निकाल्दै बल्खुतिर जान खाजेपछि झडप समेत भएको थियो । प्रर्दशनकारीले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा उत्तेजक नाराबाजी गरेका थिए ।

केहीले सुरक्षा घेरा तोडेर सिंहदरबार कब्जा गर्न जानुपर्ने भनिरहेका थिए । अहिलेको प्रसाईंको प्रदर्शन भने न यस्तो उच्छृंखल छ न त त्यो संख्यामा मान्छे नै छन् । बैंक, लघुवित्र् र सहकारीबाट लिएको ऋण फिर्ता हुने आश्वासमा त्यसबेला काठमाडौं निराश भए । अहिले भने प्रसाईं पक्षधरको जुलुसमा आउनेको संख्या न्यून छ ।