मंसिर ६, काठमाडौं । रूसी राष्ट्रति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई ७० वटा जीवजन्तु उपहार दिएका छन् ।
रूस मस्कोस्थित केन्द्रीय चिडियाखानामा रहेका विभिन्न ७० वटा जीवजन्तुलाई बुधबार उत्तर कोरिया पठाइएको हो ।
त्यसरी पठाइएको जीवजन्तुहरूमा एउटा अफ्रीकी सिंह, दुइटा भालु, याक र दर्जनौं प्रजातीका चराहरू रहेका छन् ।
मस्कोको चिडियाखानाबाट ती सबै उपहार एउटा कार्गो विमानमा लिएर रूसका वातावरणमन्त्री अलेक्जेन्डर कोज्लोफ बुधबार प्योङयाङ गएका थिए ।
प्योङयाङको एउटा सरकारी समाचार संस्थाले पनि पुटिनको उपहार प्राप्त भइसकेको उल्लेख गरेको छ ।
बिबिसीका अनुसार युक्रेनविरूद्ध रूसी लडाईंमा सहभागी हुन उत्तर कोरियाले हजारौं सैनिक पठाएको खुलासा भएको केही सातामा पुटिनले किमलाई उपहार पठाएका हुन् ।
दुई देशबीचको सम्बन्ध सुमधुर रहेको सन्देश दिन रूस र उत्तर कोरियाले एक अर्कालाई जीवजन्तु उपहार पठाउँदै आएका छन् ।
यसअघि पुटिनले उत्तर कोरिया भ्रमण गर्दा किमले स्थानीय पङसान नश्लको एक जोडी कुकुर पठाएका थिए ।