काठमाडौं, मंसिर ६ । सहकारी ठगी कसुरमा पूर्व(डिआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको बयान सकिएको छ ।
स्वणर्लक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा बिहीबार उनको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार बयान अहिलेलाई सकिएको हो ।
‘अहिलेलाई उहाँको बयान सकिएको छ । अनुसन्धान गर्दै जाँदा के देखिन्छ त्यसपछि थप होला,’ उनले भने ।
उनका अनुसार जोशीलाई शुक्रबार नै कास्की पठाइनेछ । स्रोतका अनुसार जोशीले इन्कारी बयान दिएका छन् ।
जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए ।
उनको बयान सकिएसँगै अब कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।
स्रोतका अनुसार उनलाई अर्को सातामात्रै काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।
त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।
लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वणर्लक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।
यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो ।
यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन् । सहकारीका अध्यक्ष जिबी राई थिए । उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन् ।