६ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चीन गएको उच्च स्तरीय टोली स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गत २७ कात्तिकमा एमाले नेताहरूको १५ सदस्यीय प्रतिनिधि मण्डल चीन गएको थियो । उक्त टोली बिहीबार स्वदेश फर्किएको हो । भ्रमण टोलीमा बरिष्ठ उपाध्यक्ष पोखरेलसहित एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत १५ जना थिए ।
उक्त टोलीमा सात प्रदेशको प्रतिनिधित्व हुनेगरी १० पुरुष र पाँच महिला सहभागी गराइएको थियो । भ्रमणका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले चीनको नानजिंगमा आयोजित दोस्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरममा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । एमाले सचिव लेखराज भट्टले चीन भ्रमण फलदायी भएको बताए । ‘चीन भ्रमण राम्रो भयो,’ भट्टले अनलाइनखबरसँग भने ।
उनका अनुसार भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपा एमालेको सम्बन्धको विषयमा कुरा भएको छ । ‘भ्रमणका क्रममा दुई पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा एमाले) को आन्तरिक सम्बन्धका विषयमा छलफल भए । सम्बन्ध बलियो बनाउने कुरा नै हाम्रो प्राथमिकताको विषय थियो,’ एमाले सचिव भट्टल भने ।