५ मंसिर, चितवन । चितवन भरतपुरको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क र जीबी राई समूहका विभिन्न कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ ऋणस्वरुप लगेको तर फिर्ता नआएको र यही कारण आफूहरुको वचत फिर्ता नआएको भन्दै २४ जना वचतकर्ताले जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको जाहेरीमा गोर्खा मिडिया नेटवर्कका तत्कालिन शेयरधनी एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँगै अर्का सेयरधनी एवं सञ्चालक छविलाल जोशी, जीबी ग्रुप अफ कम्पनीजका शेयरधनी एवं सञ्चालक विशाल तामाङ, नवीन अछामी र रविना रिमालविरुद्ध कारबाही माग गरिएको छ । त्यस्तै जीबी ग्रुप अफ कम्पनिजका असरफ अलि सिद्दिकी, नेचर नेस्ट प्रालिका शेयरधनी सञ्चालक दीपक लामा, स्प्रिङ्वुड रियलस्टेट एण्ड हाउजिङ प्रालिका शेयरधनी सञ्चालक भगवती बम्जन, नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पनि कारबाही गर्न माग गरिएको छ ।
सहारा सहकारीका वचतकर्ताले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले गत ८ भदौमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो । त्यतिबेला सहारा सहकारीका ४४६ जना वचतकर्ताले आफूहरुको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ मागदाबी गर्दै जाहेरी दिएका थिए । तर प्रहरी अनुसन्धानका क्रममा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१, नेचर हब्र्स इन्टरनेशनसल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ लगेको फेला परेको थियो ।
पीडित वचतकर्तालाई जिल्ला अदालत चितवनले उपलब्ध गराएको अभियोगपत्र अनुसार स्प्रिङवुड रियलस्टेट एण्ड हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७०३, नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरी सहारा सहकारीको कुल ४३ करोड १४ लाख ४१ हजार ९२७ रुपैयाँ अपचलन भएको वचतकर्ताले दाबी गरेका छन् । उनीहरुले आफूहरुको वचत हिनामिनामा संलग्न ती १० जनालाई कानुन बमोजिम कारबाही गरी आफूहरुको वचत फिर्ता गराइदिन माग गरेका छन् ।