५ मंसिर, काठमाडौं। दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गर्दा प्रहरीलाई अवरोध गरेको आरोपमा समातिएकामध्ये ९ जनालाई प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो । एक जनालाई चाहिँ आँखा सम्बन्धी समस्या देखिएकाले छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले बताए ।
छुटेका बलबहादुर तामाङबाहेक देवी संग्रौला, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली र रमेश ठकुरी हिरासतमा छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक्जिएटा टेलिकममा लगानी रहेको भन्दै उनले अभिव्यक्ति दिएका थिए । त्यसक्रममा उनले कीर्ते कागजात प्रमाण भन्दै देखाएका थिए ।
प्रारम्भिक जाँचका क्रममा उनले देखाएको कागजात कीर्ते भएको र प्रधानमन्त्रीको हस्ताक्षर समेत दुरुपयोग गरिएको भन्दै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । भक्तपुरबाट उनलाई पक्राउ गर्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपाने समेत बोलाइएका थिए । त्यसक्रममा प्रसाईंलाई सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा ल्यायो भने अरुलाई जिल्ला प्रहरी कार्यालय, भक्तपुर लगिएको थियो ।
प्रसाईंमाथि अहिले विद्युतीय अपराध नियन्त्रण ऐनविपरितको कसुरमा अनुसन्धान भइरहेको छ ।